जनता टाइम्स

२० असार २०८२, शुक्रबार १०:५३

गाउँको माटोमै हरियाली सपना: फुलासीका तामाङ दम्पतीको नर्सरी कथा


रामेछाप, २० असार । नेपाली युवा र वैदेशिक रोजगारी पर्याय जस्तै भएका छन् ।

देशमा केही छैन, केही हुँदैन, केही गर्न सकिँदैन भन्नेलाई राम्रो जवाफ दिँदै रामेछापको मन्थली नगरपालिका–१४ फुलासीका चिनाकुमार तामाङ र उहाँकी पत्नी अनिता तामाङ अहिले आफ्नो नर्सरीका हजारौँ बिरुवाको संसारमा रमाइरहेका छन्।

एक दशक अघिको कुरा हो । गाउँमा काम थिएन, सहरमा रोजगारी टाढा थियो, अनि विदेश जाने लहर बलियो थियो । गाउँका अन्य युवा विदेश जाँदा चिनाकुमारको पनि मन नबहकिएको होइन । तर बिदेसिन लागेको मनलाई सम्हाल्दै चिनाकुमारले गाउँमा नै फलफूलका बिरुवाको नर्सरी सुरु गर्नुभयो । उहाँको काममा पत्नी अनिताले पनि साथ दिनुभयो । अनि गाउँमा नै रमायो, गाउँमा नै जम्यो यो जोडी । ‘विदेश गएर पैसा त आउँछ होला, तर घर, खेत, परिवार र माटो कहाँ भेटिन्छ र ?’, अनिताले भन्नुभयो ।

केही साना बिरुवा लगाएर सुरु भयो तामाङ परिवारको हरियाली यात्रा, जसलाई उनीहरूले नाम दिए युवा एग्रिकल्चर फार्म आज त्यो नर्सरीमा ३० हजारभन्दा बढी तयारी बिरुवा छन् । जुनारदेखि जापनिज हलुवाबेद, बुद्धचित्तदेखि ओखर, किवी, मुन्तला, नाम लिँदै अनिताले भन्नुभयो ‘अरू पनि धेरै छन्, मनलाई त सबै नाम भन्न पनि आउँदैन पो ।

सुरुका दिन सजिला थिएनन् । न त प्रविधिको पहुँच थियो, न त बजारको ज्ञान । गाउँका धेरैले जिस्क्याए, ‘अरूले विदेश गएर पैसा कमाएका छन्, यी चाहिँ बिरुवा रोप्दै छन्’

यस्ता कुराले तामाङ दम्पतीको विश्वास डगमगाएन । चिनाकुमार भन्नुहुन्छ ‘हामीलाई थाहा थियो– मेहनतले हेरचाह गरियो भने बिरुवा मात्र हैन, जीवन पनि फुल्छ ।’

सुरुमा एउटा पोटलाई नर्सरी बनाइएको थियो । दुई जना मात्र थिए काम गर्ने, श्रीमान्–श्रीमती । चिनाकुमारको जीवनमा नै साथ दिन भनेर आउनुभएकी अनिताले नर्सरीको काममा पनि मनैदेखि साथ दिनुभयो । दुईजना बोटको माटो सुमसुम्याउनु हुन्थ्यो, त्यही माटोमा आफ्नो भविष्य खोज्नु हुन्थ्यो । पछि बिस्तारै नर्सरी बढ्दै गयो, अर्डर आउन थाल्यो, फोन बज्न थाल्यो । देशभरिबाट बिरुवाको अडर आउन थाल्यो । अनिता सुनाउनुहुन्छ, ‘नेपाल भरिका किसान संस्थाबाट फोन आउँछ, कतिपय नर्सरीमा नै बिरुवा लिन आउँछन् हाम्रो बिरुवा देशै भरि जान्छ।’

चिनाकुमार र अनिता अहिले आफू मात्र होइन, अरूलाई पनि काम दिन थाल्नु भएको छ । बिरुवा गोडमेल, मलजल, पानी हाल्ने, ट्रे प्याकिङ, ओसारपसार सबैका लागि गाउँकै युवालाई काम दिने गरिएको छ । ‘हामीलाई मात्रै फाइदा भयो भने के भयो र ? गाउँकै अरूलाई पनि काम दिन सकियो भने पो राम्रो भयो त’, अनिताले भन्नुभयो ।

नाफा कति हुन्छ ? अनिताको जवाफ सरल छ, ‘हामीले धेरै नाफा गर्ने  हिसाब राखेका छैनौँ, तर सन्तुष्टिले करोड जितेझैँ लाग्छ ।’

फुलासीको पाखामा स–सानो बाँसको टहराभित्र अहिले हजारौँ बिरुवाहरू हाँसिरहेका छन् । तिनीहरूको हाँसोसँगै हाँसिरहेका छन्– चिनाकुमार र अनिता, र तिनको माटोमै फुलिरहेको सपना ।

चिनाकुमारको नर्सरीलाई अझ बढाउनेसँगै अब बिरुवाको पिसिआर गराउने सपना छ । ‘त्यसको लागि कम्तीमा तीनवटा प्लास्टिक घर चाहिने रहेछ, मसँग एउटा मात्र छ, दुईवटा प्लास्टिक घर कुनै निकायले सहयोग गरिदिए त्यो काम गर्ने थिएँ’, उहाँले भन्नुभयो ।