काठमाडौं, २० असार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा अहिले भैरहवा कारागारमा हुनुहुन्छ ।उच्च अदालत तुलसीपुर (बुटवल इजलास)को आदेशलाई सर्वोच्च अदालतले सदर गरेर रविलाई थुनामुक्त गर्न अस्वीकार गरिसकेको छ । त्यहीकारण उनी अहिले भैरहवा कारागारमा हुनुहुन्छ । सर्वोच्चलेसमेत तत्काल प्राप्त प्रमाणका आधारमा रविलाई सहकारी ठगीमा निर्दोष भन्न नमिल्ने ठहर गरिसकेको अवस्थामा रास्वपाले त्यसलाई चुनौती दिँदै सर्वसाधारणको संवेदना बटुल्ने कोसिस गरिरहेको छ।
अदालतलाई समेत चुनौती दिँदै ‘राजनीतिक प्रतिशोध’को ट्याग दिएर रास्वपाले थालेको यो अभियानमा प्रतिपक्षी दलहरूसमेत जोडिँदैछन् । रास्वपाले पाउने जनसमर्थनको ब्याज गुमाउन नचाहेका प्रतिपक्षीले पनि हस्ताक्षर अभियानमा साथ दिइरहेका छन् ।
गत असार ७ गते काठमाडौंबाट थालिएको यो अभियान अहिले वडासम्म लगिएको छ। यो अभियानमा माओवादी नेताहरू, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, कलाकार विपिन कार्की, रमेश उप्रेती पनि साथ दिन पुगिसकेका छन् । अभियान चलिरहँदा अनेक विवाद पनि आउन थालेका छन् । रास्वपाको यस्तै हल्लाखल्ला अभियानले नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक भने संकटमा पर्नुभएको छ। बाँकेको नेपालगञ्जमा आयोजित हस्ताक्षर अभियानमा बर्दीमै पुगेर सहभागी भएपछि सई कमल खड्काको संकट बढेको हो । खड्का ट्राफिक प्रहरीका रुपमा नेपालगञ्जमा कार्यरत हुनुहुन्थ्यो ।
खड्काले हस्ताक्षर गर्ने क्रममा रास्वपाका कार्यकर्ताहरुले तत्कालै उहाँ तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनाइदिएका थिए । खड्काको फोटो राखेर रास्वपा कार्यकर्ताले रविलाई सरकारले जेल हाल्दा प्रहरी संगठनमा देखिएको असन्तुष्टि भनेर व्याख्या गर्नसमेत भ्याए ।
सरकारी जागिरे त्यो पनि सुरक्षा निकायको सदस्यले कुनै पनि दल र समूहसँग निकटता देखाउन निषेध छ । सामाजिक सञ्जालमा राजनीतिक धारणा बनाउने र कमेन्ट गर्ने काममा पनि फौजको अनुशासन बाहिरको कुरामा पर्छ ।
तर रास्वपाले रविमाथि राजनीतिक प्रतिशोध भएको भन्दै थालेको हस्ताक्षर अभियानमा बर्दीसहित सहभागी भएपछि सई खड्काले अब कारबाही भोग्नुपर्ने अवस्था आएको छ। उहाँलाई बाँकेबाट सिधै प्रहरी प्रधान कार्यालयमा झिकाइएको छ। नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले खड्काले हस्ताक्षर गरेको विषयमा बुझ्न उहाँलाई हेडक्वार्टर झिकाइएको जानकारी दिनुभएको छ। हस्ताक्षर अभियानमा सामेल हुँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका सई खड्कामाथि प्रहरी प्रधान कार्यालयले झिएकार छानबिन अघि बढाएको हो ।
उक्त अभियानमा रवि अन्यायमा परेको भन्दै हस्ताक्षर गरेका सई खड्कालाई प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै यही आइतबारसम्म बन्दोबस्तीका सामानसहित प्रहरी महानिरीक्षकको सचिवालयमा हाजिर हुन भनिएको छ।
यदि प्रहरी प्रधान कार्यालयले गम्भीरतापूर्वक छानबिन अघि बढाएमा खड्कालाई नसिहत, केही समयलाई निलम्बनसम्मको कारबाही हुन सक्नेछ ।
त्यस लगत्तै प्रहरी प्रधान कार्यालयले खड्का माथि कारवाही प्रकृया शुरु गरेको हो । प्रहरी संगठनको आचारसंहिता अनुसार प्रहरी कर्मचारीहरूले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था छ। निष्पक्षता र संस्थाको मर्यादा कायम राख्नुपर्ने संवैधानिक दायित्व विपरीत खड्काको व्यवहारले प्रहरी संगठनको छविमा आँच पुर्याएको ठहर गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्