जनता टाइम्स

२१ असार २०८२, शनिबार ०७:२७

जसपाका प्रदेश अध्यक्ष यादवलाई पक्राउ गर्न हजार बढी प्रहरी तैनाथ


काठमाडौं, २१ असार ।  जसपा नेपालका मधेश प्रदेश अध्यक्ष तथा पूर्व प्रदेश सांसद अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा एक हजारभन्दा बढी प्रहरी तैनाथ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ।

जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी दिनुभएको छ । प्रहरीले नेता यादवको मोबाइलको ट्रेकिङ गरिरहेको तथा केन्द्रसित मोबाइलको लोकेसन पत्ता लगाउने काममा समन्वय भइरहेको डिएसपी राईले बताउनुभयो । जिल्लाको विभिन्न युनिटबाट प्रहरी ल्याएर जिल्ला प्रहरी कार्यालयमा पूर्ण तयारी अवस्थामा रहेको र प्रहरीले सबैतिर निगरानी बढाएको बताउँदै डिएसपी राईले नेता यादवलाई पक्राउ गर्ने जानकारी दिनुभयो । नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबिच बिहीबार राति गालीगलौज भएको अडियो सार्वजनिक भइसकेको छ। गालीगलौजको घटनापछि बिहीबार राति नेता यादवलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार भएको थियो। नेता यादवका मानिसहरूले प्रहरीको गाडीमाथि आक्रमण गरी तोडफोड गरेको, प्रहरीको काम कारबाहीमा अवरोध सिर्जना गरेको र सार्वजनिक बाटो रोकेको आरोप प्रहरीले यादवमाथि लगाएको छ।
सरकारी गाडी, सम्पत्ति तोडफोड गरेको र सरकारी कामकाजमा बाटो रोकेर बाधा व्यवधान सिर्जना गरेको आरोप नेता यादवमाथि रहेको छ। प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जी जारी भएको भएको बताएको छ।