जनता टाइम्स

२१ असार २०८२, शनिबार ०८:४७

काभ्रेको नालामा पुल भाँचियो : काठमाडाैं सँग जोड्ने वैकल्पिक सडक अवरुद्ध


काभ्रे, २१ असार । बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल गएराति भाँचिएको छ । पुल भाँचिएपछि सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेको नाला र भक्तपुरको च्यामासिङ सडकखण्ड अन्तर्गत पर्ने यो सडकखण्ड पूर्वबाट काठमाण्डौसँग जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको थियो ।

स्थानीयबासिन्दा शान्तलाल श्रेष्ठका अनुसार ४५ वर्षअघि निर्माण भएको पुल भाँचिएको हो । पुल २०३७ सालमा निर्माण भएको हो । पुल भाँचिएपछि काठमाण्डौ आउनेरजाने गाडीलाई रोक लगाइएको छ । अहिले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने धेरैजसो गाडीले नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए ।

जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा गाडी नपठाउन भनिएको र बनेपाबाट काठमाण्डौतर्फ लाग्ने गाडीलाई बनेपामा रोकिएको छ । प्रहरीका अनुसार पुल भाँचिएपछि सडकखण्डलाई कसरी अस्थायी रुपमा सञ्चालन गर्न सकिन्छ भनेर सडक विभाग र पालिकासँग समन्वय भइरहेको छ ।