काठमाडौं, २२ असार । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली प्रदेशको सदरमुकाम सिमकोट पुग्नुभएको छ । हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको एकमात्र जिल्ला हुम्लालाई सडकमार्गमार्फत् देशको मुख्य सडक सञ्जालमा जोड्ने पुल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज हुम्ला पुग्नुभएकाे हाे ।
कर्णाली पुग्दा प्रधानमन्त्री ओलीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलेसहित प्रदेश सरकारका अन्य प्रतिनिधिहरूले स्वागत गर्नुभयाे । मुख्यमन्त्री कँडेलले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीलाई स्वागत गर्दै लेख्नु भएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओलीलाई कर्णालीमा हार्दिक स्वागत, राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी एकमात्र जिल्ला सदरमुकाम हुम्लाको सिमकोट सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थितिमा आजदेखि राष्ट्रिय सडक सञ्जालमा जोडिँदैछ, यो ऐतिहासिक अवसर र क्षणको लागि हामी सबै कर्णालीबासीलाई बधाई।’
यो पुल उद्घाटनसँगै दशौँ वर्षदेखिको कर्णालीबासीको सपना पुरा हुँदै गएको छ । कर्णाली करिडोर अन्तर्गतको यो पुल सम्पन्न भएपछि राष्ट्रिय राजमार्गबाट हुम्लामा पहिलोपटक चारपाङ्ग्रे सवारीसाधन पुग्ने भएकाे छ ।
यस अवसरमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम पनि तय गरिएको छ । उहाँले कर्णालीको भौतिक पूर्वाधार, विकासको प्राथमिकता र संघीय सरकारको ध्यान केन्द्रित योजनाबारे धारणा राख्दै हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्