जनता टाइम्स

२४ असार २०८२, मंगलवार १०:५१

विपद्को उद्धारका लागि सरकारकारी संयन्त्र हाइ अलर्टमा छन् : प्रधानमन्त्री 


काठमाडौं, २४ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले हाल देशका विभिन्न क्षेत्रमा भइरहेको भारी वर्षा र सम्भावित प्राकृतिक विपद्‌लाई मध्यनजर गर्दै जनतालाई सावधानी अपनाउन अपिल गर्नुभएको छ ।

उहाँले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत  सरकारका निकाय उच्च सतर्कतामा रहेको जानकारी दिनुभएको छ ।  ‘मौसमजन्य विपद्को उद्धारका लागि सरकारले विपद् व्यवस्थापन विभागलाई ‘हाई अलर्ट’ मा राखेको छ, सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्रहरीका स्वयंसेवकहरू आवश्यक साधन र उद्धार उपकरणसहित तैनाथ छन् र आफ्नो काम गरिरहेका छन्’, उहाँले लेख्नु भएको छ ।

प्रधानमन्त्री ओलीले सम्भावित जोखिम भएका क्षेत्रमा खटिएका सुरक्षा निकायका सम्पर्क नम्बरहरू सार्वजनिक गरिसकिएको पनि जनाउनुभएको छ । साथै, सूचना समन्वय र प्रभावकारी उद्धारका लागि सबै निकायबिच समन्वय कायम गर्न आग्रह गर्दै नागरिकहरूलाई सतर्क रहन आह्वान गर्नुभएको छ ।

हाल देशका विभिन्न पहाडी तथा तराई क्षेत्रहरूमा निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम बढिरहेको छ । यस्ता विपद्‌का घटनामा उद्धार तथा राहत पुर्‍याउन सरकारले तयारी अवस्थामा रहेको र आवश्यक कदम चालिरहेको प्रधानमन्त्रीको भनाइ छ । गए राति रसुवामा बाढीले ठुलो क्षति पुर्‍याए पछि प्रधानमन्त्रीकाे याे अपिल आएकाे हाे ।

साथै, प्रधानमन्त्री ओलीले  यस्ताे बेला सूचना समन्व गर्न पनि आग्रह गर्नु भएको छ । उहाँले आधिकारिक स्रोतको सूचनालाई मात्रै विश्वास गर्न र संकटको घडीमा एकअर्कासँग सहकार्य गर्न पनि अपिल गर्नुभएको छ ।

सरकारले यसअघिकै विपद् पूर्व तयारी योजनाअन्तर्गत संवेदनशील जिल्लामा  सतर्कता अपनाएकाे छ भने जिल्ला प्रशासन कार्यालयहरूलाई पनि सतर्क रहन निर्देशन दिइसकेको छ ।