जनता टाइम्स

३२ असार २०८२, बुधबार १६:०२

राष्ट्रिय कोदो दिवस मनाउनेदेखि अन्तराष्ट्रिय अनुदान लिनेसम्मका यस्ता छन मन्त्रिपरिषदका निर्णय


काठमाडौं, असार ३२ । सरकारले प्रत्येक वर्षको साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने भएकोछ । असार २३ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिान्त्री तथा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री परिषद्को निर्णय सर्वाजनिक गर्दै उक्त जानकारी दिनुभएको हो । त्यस्तै, सरकारले असार ३० गतेदेखि साउन ८ गतेसम्म संयुक्त राज्य मन्त्रिपरिषद्को कार्यालय अमेरिकाको न्यूयोर्कमा आयोजना हुने दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, नेपाल चीन कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वार्षिकोत्सवको अवसरमा आगामी साउन ६ गतेदेखि १२ गतेसम्म गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई चीन भ्रमणको लागि स्वीकृति प्रदान गर्ने, नेपाल राष्ट्र बैकबाट एक हजार रुपियाँ दरको नयाँ बैंक नोट प्रकाशनको लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने सरकारको निर्णय छ ।

त्यस्तै, विश्व बैंकबाट विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने थप १०.८ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता प्राप्त गर्ने, आर्थिक वर्ष २०८१÷८२ का लागि उखु उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रति क्वीन्टल रु ३५ कायम गर्ने, नेपाली सेनाका ३७ जना महासेनानीहरूको सरुवा गर्ने, रेसुङ्गा नगरपालिका गुल्मीलाई जिपलाइन र स्काई साइक्लिङ निर्माणको लागि गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं ८ मा रहेको राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति प्रदान गर्ने, २०८२ साउन ९ गतेदेखि १४ गतेसम्म नर्वेमा आयोजना हुने नर्भे टु स्ट्रेन्थन कोअपरेशन कार्यक्रममा सहभागी हुन वन तथा वातावरण मन्त्रीलाई स्वीकृति प्रदान गर्ने मन्त्रीपरिषद्को निर्णय रहेकोछ ।

त्यस्तै, रेस्टोरिडा रिफ्रेश सेन्टर प्रालिलाई पर्यापर्यटन व्यवसाय गर्ने कार्यको लागि सुनकोशी गाउँपालिका वडा नं ६ सिन्धुलीमा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा र धार्चे कृषि जडिबुटी उत्पादन तथा प्रशोधन फार्मलाई वन पैदावरमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्ने कार्यको लागि धार्चे गाउँपालिका वडा नं ४ लाप्राक, गोरखामा रहेको हैसियत बिग्रेको राष्ट्रिय वनको जग्गा कबुलियती वनको रूपमा उपलब्ध गराउन स्वीकृति दिने, शिक्षा, विज्ञान तथा प्रविधि २०८२ साउन ५ गतेदेखि १६ गतेसम्म चीनमा आयोजना हुने रिजनल वर्कसप अनक्लीयर सेक्युरिटि रेस्पोन्स क्यापाविलिटि डेभलपमेन्ट फर बार्डरर्स एन्ड पोर्टस् कार्यक्रममा सचिव (विज्ञान तथा प्रविधि) लाई सहभागी हुन स्वीकृति दिने सरकारको निर्णय रहेको छ ।

त्यस्तै नेपाल र जापान सरकारबिच सन् २०१९ मार्च २० मा हस्ताक्षर भएको जापानमा निश्चित सीपयुक्त कामदार पठाउने विषयको समझदारीपत्रको अवधि १९ मार्च २०२४ बाट थप पाँच वर्षका लागि नवीकरण गर्न स्वीकृति दिने, जल तथा उर्जा आयोगको सचिवालय र अन्तर्गतका कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने, क्यासिनो नियमावली, २०८२ स्वीकृत गर्ने, राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ स्वीकृत गर्ने, नेपाल लेखापरीक्षण सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायव महालेखापरीक्षक नारायण एम।सी। लाई बढुवा गर्ने सरकारको निर्णय रहेको छ ।

पत्रकार सम्मेलनमा मन्त्री गुरुङले मन्त्रीपरिषद्को बैठकको असार ३० गतेको निर्णय समेत सार्वजनिक गरिएकोछ । २०८२ साउन ११ गतेदेखि १३ गतेसम्म इथियोपियामा आयोजना हुने सेकेन्ड युएन फुड सिस्टम्स् समिट स्टक टेक–युएनएफएसएस प्लस फोर कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा। जय बहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।

यसैगरि, नेपाल बीमा प्राधिकरणका सञ्चालक समितिका अध्यक्ष शरद ओझाको आचरण, कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको अध्यक्षतामा जीवन प्रकाश सिटौला र कपिलदेव ओली सदस्य रहेको छानबिन समिति गठन गर्ने छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेल सम्मका लागि नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष भई कामकाज गर्ने गरी अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई तोक्ने, निर्माणाधीन नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५ अर्ब ७० करोड बराबरको थप सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय रहेको छ ।

आगामी साउन ६ गतेदेखि ८ गतेसम्म दक्षिण अफ्रिकाको जोहानस्वर्गमा आयोजना हुने फस्ट ग्लोबल एसएमइ मिनिस्ट्रीयल मिटिङ मा दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा। कपिल मान श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने, जिल्ला समन्वय समिति डडेल्धुराको नाममा रहेको २–६–१–२ रोपनी जग्गा अमरगढी नगरपालिका, डडेल्धुरालाई बहुउद्देश्यीय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने, राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा। खगराज शर्मा, रूपन्देहीलाई नियुक्ति गर्ने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यावधि मिति २०८२/३/२९ देखि चार महिनाका लागि थप गर्ने सरकारको निर्णय छ ।

नेपाली सेनातर्फ एक जना प्रमुख सेनानीलाई महासेनानी दर्जामा बढुवा गर्ने, एक जना महासेनानीलाई सहायक सेनानी दर्जामा बढुवा गर्ने र १९ जना सहायक सेनानीहरूको सरुवा गर्ने, ग्रामिण सडक सञ्जाल सुधार आयोजनालाई नवलपरासी ९बर्दघाट–सूस्ता पूर्व० जिल्लाको कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा रहेको आलोक चक्रपथ अन्तर्गत गिरुवारी– झ्यालबास– डण्डा-चौराहा-पनौती-बसन्तपुर सडकखण्ड स्तरोन्नतिका लागि राष्ट्रिय वनको ३.९९ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, कोशी गाउँपालिका, सुनसरीको केन्द्र वडा नं १ लौकहीबाट परिवर्तन गरी वडा नं ३ बद्रीपुल कायम गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ ।

कालिगण्डकी गाउँपालिका, स्याङ्जाको केन्द्र वडा नं ४ कट्टीबाट परिवर्तन गरी वडा नं ४ गहलाम कायम गर्ने, साउन १० गतेदेखि १२ गतेसम्म चीनको संघाईमा आयोजना हुने २०२५ वल्र्ड आर्टिफिल इन्टेलिजेन्स कन्फ्रेन्स मा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वी सुब्बा गुरुङलाई स्वीकृति प्रदान गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या २०८२ साउन ८ र ९ गते चीनको बेइजिङमा आयोजना हुने ग्लोबल हेल्थ फोरम (जिएचएफ) २०२५ सम्मेलनमा स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले बताउनुभयो ।