काठमाडाैं, ३ साउन । नेकपा एमालेको पोलिटब्युरो बैठक आजै साँझसम्म सकिने भएको छ ।
च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा राख्ने क्रम चलिरहेको छ। बैठकको मुख्य एजेण्डा आगामी भदौमा हुने विधान महाधिवेशनको तयारी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण र अन्य सांगठनिक विषयहरूमा केन्द्रित रहेको छ।
बैठक हिजोदेखि सुरु भएको हो। बैठकमा हिजो र आज गरी हालसम्म ३२ जना नेताले आफ्ना धारणा राखिसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार केही नेताहरूले लिखित रूपमा पनि आफ्नो धारणा प्रस्तुत गर्नु भएको छ ।
आजको बैठकमा उत्तम पौडेल, आनन्द पोखरेल, गोकुल बास्कोटा, महेश बस्नेत, लीला गिरी, जगत विक, कमल चौलागाईं, ईश्वरी बहादुर रिजाल, जितु गौतम, विनोद श्रेष्ठ, सुमन प्याकुरेल, भैरव सुन्दर श्रेष्ठ, राम दयाल मण्डल, दलबहादुर राना र गोकुल घर्ती मगर लगायतले धारणा राख्नु भएको छ । तीमध्ये केही नेताले लिखित रूपमा पनि धारणा पेस गर्नु भएको छ ।
बाँकी सदस्यले आजै धारणा राख्ने गरी बैठकलाई साँझ ६/७ बजेसम्म समापन गर्ने तयारी गरिएको गौतमले बताउनुभयो । गौतमका अनुसार बैठकमा नेताहरूले पार्टी विधानसँग सम्बन्धित विषयसँगै, बाहिर चर्चा भइरहेको ७० वर्ष उमेर हद, दुई कार्यकालको सिमाङ्कन, पूर्वराष्ट्रपतिले पार्टी सदस्यता लिएको प्रसङ्ग लगायतका विषयमा धारणा राख्नु भएको छ ।
त्यसका साथै पार्टीका विभिन्न कमिटीहरूलाई कार्यकारी ढङ्गले अगाडि बढाउने र समन्वयमा सुधार ल्याउने भन्ने विषय पनि नेताहरूको धारणा राख्नु भएको छ । बैठक जरी रहेको र बाँकी नेताहरू बोल्ने क्रम जारी रहेको गौतमले जानकारी दिएका छन्।













प्रतिक्रिया दिनुहोस्