जनता टाइम्स

१० श्रावण २०८२, शनिबार ०९:४३

वाग्मती प्रदेशका मुख्यमन्त्रीद्वारा राजीनामा दिएका चार मन्त्री बर्खास्त


काठमाडाैं, १० साउन। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका नेपाली कांग्रेसका चार मन्त्रीहरूलाई बर्खास्त गर्नु भएको छ ।

शुक्रबार दिउँसो राजीनामा दिएका मन्त्रीहरूलाई साँझ मुख्यमन्त्री लामाले पदमुक्त गर्नु भएको हो । उहाँले आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठलाई पदमुक्त गर्नु भएको हो। ती मन्त्रीहरूले दिउँसो नै राजीनामा बुझाएको दाबी गरे पनि आधिकारिक रूपमा राजीनामा पत्र मुख्यमन्त्रीसम्म नपुगेको जनाइएको छ।

उहाँहरूले लामाको विरुद्ध ल्याएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरी पदबाट राजीनामा दिनुभएको थियो ।  सोही कारण अनुशासनको आधारमा उहाँहरूलाई मुख्यमन्त्रीले बर्खास्त गर्नु भएको बुझिएको छ ।

वाग्मतीमा का‌ंग्रेका प्रदेश सभापति एवं सांसद इन्द्रबहादुर बानियाँलाई संसदीय दल नेता बनाउन २१ सांसदले हस्ताक्षर गरी नयाँ नेतृत्व माग गरेका छन्।  वाग्मतीमा लामा र बानियाँबिच आधा-आधा कार्यकाल मुख्यमन्त्री बन्ने सहमति भएको भनिए पनि सहमति कार्यान्वयन गर्ने क्रममा मुख्यमन्त्री सम्पर्कविहीन भएको आरोप लागेको छ। यही कारण चार मन्त्रीसहित २१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

प्रदेश सरकारले ल्याएको बजेटमा पनि पार्टीभित्र असन्तुष्टि छ। आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले एकलौटी कब्जा गरी बजेट ल्याएको भन्दै विरोध भइरहेको छ । अराजक शैलीमा बजेट अघि बढाउनुभन्दा कांग्रेस मन्त्रिमण्डल नै परिवर्तन गरेर अघि बढ्न खोजिएको छ ।

२०७९ पुस १३ मा भएको संसदीय दल नेता निर्वाचनमा नुवाकोटका बहादुरसिंह लामा २१ मत प्राप्त गरी विजयी हुनु भएको थियो ।  हेटौंडाका इन्द्रबहादुर बानियाँले १६ मत पाउनु भएको थियो । अहिले संसदीय दल भित्र बानियाकाे पक्षमा बहुमत पुगेकाे छ । बानियाँलाई सभापति देउवा, महामन्त्री गगन थापा र पूर्वमहामन्त्री प्रकाशमान सिंह निकट सांसदहरूको समर्थन प्राप्त छ।