सिन्धुली, साउन ११।सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६, भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन्।
करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसमेत रहेका १७ जना सदस्य विगत केही दिनदेखि सम्पर्कविहीन रहेको वडाध्यक्ष रवीन श्रेष्ठले बताउनुभयो। सीमान्तकृत समुदायको घर एकान्तमा रहेको कारण उनीहरू कहिलेबाट बेपत्ता भए भन्ने कुरा पत्ता लगाउन गाह्रो भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। सोमबार बिहान मात्र छिमेकीले घरको नजिकै गोठमा बाँधिएको पाडोलाई तीन दिनदेख घाँसपानी हाल्न कोही नआएको देखेपछि आशङ्का उत्पन्न भएको थियो। त्यस पछि घरमा खोज्दा कोही पनि नभेटिएपछि प्रहरीलाई खबर गरिएको थियो।
श्रेष्ठका अनुसार, हायु परिवारले बुधबार वा बिहीबारतिर सामाजिक सुरक्षा भत्ता बापत करिब ८ लाख रुपैयाँ बुझेका थिए। भत्ता बुझेको भोलिपल्टदेखि नै सम्पर्कविहीन भएको घटनाले रहस्य थपिएको छ। ‘घटनाको प्रकृति हेर्दा यत्ति ठुलो परिवार यसरी हराउनु सामान्य कुरा होइन’, श्रेष्ठले भन्नुभयो।
घरको भान्सामा सामान्य आगलागी भएको र भाँडामा काटिएको सुँगुरको मासु भेटिएको भए पनि मानिसहरू भने कतै फेला परेका छैनन्। घरपालुवा जनावरहरू पाडो, बाख्रा, कुखुरा सबै अलपत्र अवस्थामा भेटिएका छन्। श्रेष्ठले भन्नुभयो, ‘उनीहरू शुक्रबार तिरबाट बेपत्ता भएका हुन सक्ने अनुमान छ।’
उर्मिलाका श्रीमानको गतवर्ष निधन भएको थियो। वडाध्यक्ष श्रेष्ठका अनुसार परिवारमा ६ छोरा, तिनीहरूका श्रीमती, ६ छोरी छन्। तीमध्ये एउटी छोरी काठमाडौंमा र एउटी बुहारी विदेशमा रहेको जानकारी आएको छ। जेठो ज्वाइँ पनि परिवारसँगै बस्दै आएको पुष्टि भएको छ।
घटनाबारे जानकारी पाएपछि सोमबार बिहान प्रहरी टोली हायुको घरमा पुगेको थियो। अहिले प्रहरी र स्थानीयहरू मिलेर उनीहरूको खोजीमा खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी सूर्यप्रसाद सुवेदीले जानकारी दिनुभयो।
वडाध्यक्ष श्रेष्ठले घर छाडेर स्वेच्छाले हिँडेको हुन सक्ने आशङ्का पनि गर्नुभएको छ। ‘भत्ता पाएपछि घरको सुँगुर काटेर खाएका रहेछन्, त्यसपछि कसैले थाहा नपाई घर छाडेर निस्किएको पनि हुनसक्छ, बैङ्कबाट ऋण लिनु भएको रहेछ, बैङ्कमा मान्छे वडा कार्यालयमा पनि पटक पटक आउने गरेका थिए, कतै पैसा ल्याए पछि बैङ्कबाट लिन आउँछ भनेर हिँड्नु भयो कि, अथवा अरू केही भयो कि, अहिले केही भन्न सकिने अवस्था नै रहेन’, श्रेष्ठले भन्नुभयाे।













प्रतिक्रिया दिनुहोस्