काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको बताउनुभएको छ ।
मंगलबार नागपञ्चमीको अवसरमा शुभकामना दिँदै ओलीले जलवायु परिवर्तनको कारण विश्व समुदाय संकटमा परेको उल्लेख गर्नुभएको छ । ‘प्रकृतिको संरक्षण गर्न नसक्दा आज हामी जलवायु परिवर्तनको असर भोगिरहेका छौँ’, ओलीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ ।
नागपञ्जमी वातावरण सन्तुलनको प्रतीकको पर्व भएको उहाँले उल्लेख गर्नुभएको छ। ‘आज नागपञ्चमी : पानी, माटो र मौसमी सन्तुलनको प्रतीकका रूपमा नागलाई पूजा गर्ने दिन, यसले अन्य जीवहरूसँग मानिसको सहअस्तित्वलाई पनि सम्झाउँछ’, उहाँले लेख्नु भएको छ ।
प्रकृतिको संरक्षण गर्ने सन्देश नेपाली समाजको प्राचीन सभ्यता भएको ओलीले स्मरण गराउनुभएको छ । ‘प्रकृतिको संरक्षण गर्ने सन्देश स्वरूप हाम्रो प्राचीन सभ्यताले नागपञ्चमी जस्तो पर्व उहिल्यै अपनाएको बुझ्न सकिन्छ’, ओलीले सन्देशमा लेख्नु भएको छ ।
आजको दिन घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेर दूध, अक्षता, दुबो र फूलले पूजा गर्ने चलन छ । ‘हाम्रा पुर्खाले प्रकृतिका सबै जीवलाई श्रद्धा गर्न सिकाएका छन्, यसले नकारात्मक ऊर्जा हटाउँछ भन्ने परम्परागत विश्वास छ, सबैलाई नागपञ्चमीको शुभकामना’, उहाँले लेख्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्