जनता टाइम्स

१३ श्रावण २०८२, मंगलवार २१:५८

अहिले देशको स्थिति अत्यन्त जटिल छ : समाजवादी मोर्चा  


काठमाडौं, साउन १३ । समाजवादी मोर्चाले देशलाई समाजवादी गणतान्त्रिक व्यवस्थामा रूपान्तरण गर्न नयाँ ढङ्गबाट अगाडि बढ्ने निर्णय गरेको छ।

मंगलबार नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकपछि नेकपा (क्रान्तिकारी माओवादी) का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले वर्तमान परिस्थितिमा मोर्चालाई सुदृढ गर्दै नयाँ ढङ्गले प्रस्तुत गर्नुपर्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो। ‘समाजवादी मोर्चालाई अब देशलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सक्ने तहमा पुर्‍याउनुपर्छ, त्यसका लागि मोर्चाले आफ्ना सीमाहरूको निर्ममतापूर्वक समीक्षा गरी नयाँ ठाउँमा उभिनु आवश्यक छ’, उहाँको भनाइ थियो।

नेता प्रकाण्डले देशको समग्र अवस्था जटिल रहेको र आम जनता निराशावादको चपेटामा परेको बताउनुभयो। गणतन्त्रलाई धम्की दिने प्रवृत्तिहरू बढ्दै गएको उल्लेख गर्दै उहाँले वर्तमान सत्ताको शैलीलाई डरलाग्दो भन्दै आलोचना गर्नुभयो। ‘अहिले देशको स्थिति अत्यन्त जटिल छ, गणतन्त्रलाई धम्क्याउने प्रवृत्ति र हरकतहरू अगाडि आइरहेका छन्, राज्य सञ्चालन गर्ने तरिका भयावह देखिएको छ। देश निराशावादको सिकार बनेको छ, जसका कारण युवाहरू विदेश पलायन भइरहेका छन्, राज्यको धनसम्पत्ति बाहिर गइरहेको छ’, नेता प्रकाण्डले भन्नुभयो।

समाजवादी मोर्चामा नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी) लगायतका दलहरू आबद्ध छन्। पछिल्लो समय मोर्चाभित्र निष्क्रियता र अस्पष्ट कार्यदिशा रहेको भन्ने आलोचनाबीच मोर्चाले आफूलाई पुनः सुदृढ पार्न बैठक आयोजना गरेको हो ।

बैठकमा देशको पछिल्लो राजनीतिक परिस्थिति, सङ्घीयताको कमजोर कार्यान्वयन, सामाजिक न्याय र समावेशिताको चुनौतीबारे समेत गम्भीर छलफल भएको नेताहरूले जनाएका छन्। मोर्चाले आगामी दिनमा देशव्यापी जनसम्पर्क, वैचारिक छलफल, वैकल्पिक अर्थनीति र युवासँगको संवाद अभियान अघि बढाउने तयारी गरिरहेको जनाएको छ।