जनता टाइम्स

१५ श्रावण २०८२, बिहीबार १९:२४

वामदेवका कारण महिना पनि नबित्दै समाजवादीमा बखेडा सुरू


काठमाडौं, १५ साउन ।  यहि साउन २ गते माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका नेता वामदेव गौतमले जिम्मेवारी खोजेपछि विवाद सुरू भएको छ ।

साउन २ गते राष्ट्रियसभा गृहमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालसँग अंकमाल गर्दै समाजवादीको यात्रा थाल्नुभएका वामदेवका कारण महिना पनि नबित्दै समाजवादीमा बखेडा सुरू भएको हो । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजकका रुपमा लामो प्रतिक्षापछि समाजवादीमा प्रवेश गर्नुभएका उहाँले आफू सय वर्षसम्म बाँचेर समाजवाद ल्याइछाड्ने घोषणा पनि गर्नुभएको थियो ।

एमालेमा जान दिन दिनै खुट्टा उच्चाल्नुभएका गौतमलाई एमालेले भित्र्याउन तयार नभएपछि विरक्तिए बस्नुभएका वामदेवका लागि साउन २ गते झोली थाप्नुभएका माधव नेपाल अहिले तनावमा पर्नुभएको छ।

गौतमको मिलनले समावादी चलायमान हुने अपेक्षा गरिरहेको नेकपा एसमा अब विवाद र बखेडा सुरू भएको हो । समाजवादीमा तेस्रो वरीयता पाउनुभएका उहाँले साउन ७ मै पार्टीले काम नदिए लामो समयसम्म एकीकृत समाजवादीमा नबस्ने बताउनुएको थियो।

कीर्तिपुरमा आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले आफू काम गर्न समाजवादीमा सक्रिय भएको उल्लेख गर्नुभएको थियो । काम गर्ने अवसर नदिए लामो समय पार्टीमा नबस्ने गौतमले त्यस दिन घोषणा गर्नुभएको थियो । उहाँले त्यसो भनेको साता नबित्दै समाजवादीमा विवाद देखिएको छ।