काठमाडौं, साउन १७ । जीवनभर अध्यक्षको कुर्सीमा रहिरहने योजनाका साथ नेकपा एमाले बिभाजन गरी माधव नेपालले गठन गर्नुभएको नेकपा एकीकृत समाजवादी विघटनको संघारमा पुगेको छ ।
भ्रष्टाचार मुद्दा खेपेका पात्र नेतृत्वमा रहन नहुने सम्मानित नेता झलनाथ खनालको अडान र पार्टी छाडेर जाउ भन्ने माधवको उर्दीपछि गठन भएको चार बर्ष नपुग्दै सो पार्टी बिघटनको संघारमा पुगेको हो । नेकपा एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार पछिल्लो समय दुवै नेता एकले अर्कालाई सिध्याउने खेलमा लागेपछि बोलचालसमेत बन्द रहेको छ । त्यसमाथि भ्रष्टलाई कसरी अध्यक्ष मान्ने ? भन्दै बैठकमा झलनाथ कडकिएपछि चिढिनुभएका माधव ‘मलाई नमान्ने यो पार्टीमा किन बस्ने ? मलाई मान्नेहरुका लागि मात्रै पार्टीमा स्थान छ’ भन्दै हुकुमी शासन चलाउने उदघोष गरेपछि अवस्था अत्यन्तै प्रतिकुल बनेको छ ।
‘पार्टीको हैसियत त थिएन नै अव बिघटन नै हुने बिन्दूमा पुगेको छ । अव कुनै पनि नेता–कार्यकर्ता यो पार्टीमा रहनुपर्छ भन्नेमा बिश्वस्थ छैनन । निर्वाचितहरु पद जान्छ भनेर बसेका छन । अरु ब्यक्ति एमालेले एक न एक दिन बोलाउँछ भन्दै कुरेर बसेका छन । माधव कमरेड प्रचण्डले आफूपछिको बरियता दिएर माओवादीमा भित्र्याउँछन भन्ने बिश्वासमा हुनुहुन्छ,’ जनताटाइम्स डटकमसँगको कुराकानीमा नेकपा एसका एक पदाधिकारीले भने । उनका अनुसार अहिले सवैजसो नेताहरु माधवले राजनीतिक जीवन नै बर्वाद पारे भन्दै सरापेर बस्न थालेका छन । ती नेताका अनुसार ‘एमालेमा आफूले खानूजति खायो, परिवारलाई दिनजति दियो, डुवाउने बेला हामीलाई फसायो’ भन्ने अधिकांशको बुझाइ छ ।
यही बिवाद अहिले सतहमै देखिएको छ । अध्यक्ष नेपाल र सम्मानित नेता खनालबीच आरोप प्रत्यारोपको सुनामी चलेको छ । दुई प्रमुख नेताबीचको यो श्रृंखलाले नेकपा एसको भविष्य अव छैन भन्ने देखिएको पार्टी कार्यकर्ताको बुझाइ छ । दुई नेताबीचको युद्धले पार्टीभित्र लामो समयदेखि गुम्सिएको वैचारिक द्वन्द्व, साङ्गठानिक गतिहीनताप्रतिको निराशा र नेतृत्वप्रतिको अविश्वासलाई विस्फोटको अवस्थामा पुर्याएको छ ।
अध्यक्ष नेपाल भ्रष्टाचार मुद्दामा परेर पनि नेतृत्वमा रहिरहने अनैतिक काम गरिरहेको बेला सम्मानित नेता खनालले पार्टी बिभाजन गलत रहेछ भन्ने निश्कर्ष सुनाएपछि सो पार्टीमा कार्यकर्ता बस्नै नसक्ने अवस्थामा पुगेको पदाधिकारी तहकै बुझाइ रहेको छ । यसबीचमा जनसंगठनका पदाधिकारीले समेत दुवैलाई चाँडोभन्दा चाँडो पार्टी छाडन भन्दै तत्कालै एमालेमा बिलय गराउन सार्वजनिक रुपमै सुझाव दिन थालेका छन ।
इमेज टेलिभिजनसँगको अन्तरवार्तामा सम्मानित नेता खनालले अध्यक्ष नेपालको राजीनामा माग्नु र त्यसको जवाफमा नेपालले खनाललाई पार्टीमा रहने नैतिकता सक्किएको भन्दै पार्टीमा बस्न नमिल्ने बताएपछि नेकपा एकीकृत समाजवादी अव कायम रहिरहन आवश्यक छैन भन्ने बुझाइमा कार्यकर्ता तह पुगेका छन ।
खनालको विश्लेषणले माधवको आक्रोशको पारो निकै बढाएको देखिएको छ । ‘दक्षिणपन्थी अवसरवाद’ विरुद्धको लडाइँ भनिए पनि त्यसलाई सैद्धान्तिक र राजनीतिक रूपमा पुष्टि गर्न नेतृत्व पूर्णरूपमा असफल भएको भन्दै खनालले माधवलाई तिर चलाउनु भएको छ ।
खनालको ‘पुष्टि नभएको विद्रोहको अर्थ रहेन’ भन्ने अभिव्यक्तिले पार्टीको जन्मलाई एक वैचारिक आवश्यकताभन्दा पनि तत्कालीन सत्ता–सङ्घर्ष र व्यक्तिगत टकरावको प्रतिक्रियाको रूपमा चित्रित गरेको छ । जब विद्रोहको जग नै कमजोर र अस्पष्ट हुन्छ तब त्यसबाट बनेको संरचनाको भविष्य पनि अनिश्चित हुनु स्वाभाविक हो । खनालले यही वैचारिक खोक्रोपनालाई पार्टीको मूल समस्याको रूपमा औँल्याउनु भएको छ ।
खनालले पार्टीको आन्तरिक जीवन र साङ्गठनिक अवस्थाको निराशाजनक चित्र पनि प्रस्तुत गर्नुभएको छ । महाधिवेशन भएको १३ महिनासम्म पनि त्यसका निर्णयहरू कार्यकर्तासम्म नपुग्नु, अन्तरपार्टी निर्देशन (अपानि) जस्ता न्यूनतम साङ्गठनिक गतिविधि ठप्प हुनु र पार्टीको मुखपत्रसमेत बन्द हुनुले एकीकृत समाजवादी एक जीवन्त राजनीतिक शक्तिभन्दा पनि एक निष्क्रिय र दिशाहीन समूहमा परिणत भएको खनालका निचोड छ ।
यो अवस्थाले पार्टीभित्र चरम अन्योल, निराशा र पलायनको स्थिति सिर्जना गरेको छ । नेतृत्वले कार्यकर्तालाई वैचारिक रूपमा प्रशिक्षित गर्ने, राजनीतिक रूपमा परिचालन गर्ने र साङ्गठानिक रूपमा एकताबद्ध गर्ने आफ्नो आधारभूत दायित्व पूरा गर्न नसकेको खनाल बताउनु हुन्छ । सम्मानित नेता खनालले पार्टी हाँक्न नसकेपछि पदमा बस्ने अधिकार छैन भन्दै माधवलाई छाडेर जान भन्नुभएको छ ।
प्रत्यक्षरुपमा अध्यक्ष नेपालको राजीनामा नमागे पनि खनालले राजनीतिमा नैतिकता र इमान सँगै जोडिने भन्द्र भ्रष्टाचारको मुद्दा उठाउनु भएको छ । खनालको यस अभियानपछि माधव अव पार्टीमै बस्न नदिने भन्दै आक्रोशित बन्नुभएको छ । खनाल र नेपाल दुवै नेकपा एमालेको अध्यक्ष र प्रधानमन्त्री हुनुभएको नेता हो । एमालेमा अव भनेको पद पाउन सकिन्न भन्ने निश्कर्षमा पुगेपछि ‘मलाई केही नहुने पार्टी किन चाहियो ?’ भन्दै माधवले नयाँ पार्टी गठन गर्नुभएको थियो ।
पार्टी बिभाजनको बेला भारतमा उपचार गराई रहनुभएका खनाललाई स्वास्थ्य उपचार खर्च सरकारले बेहोर्ने हो भने एमाले छाडेर आफूतिर आउनु पर्ने अन्यथा रोक्ने धम्की दिएर पार्टी बिभाजनका लागि बाध्य पार्नुभएको थियो । सरकारको पैसालाई आफ्नो ब्यक्तिगत जसरी धम्की दिएर आफूतिर तान्नुभएको माधवलाई तिनै खनाल घाँडो बन्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्