जनता टाइम्स

१८ श्रावण २०८२, आईतवार १३:२५

ट्रम्पको टेरिफ नीति सेरोफेरोमा अमेरिका-भारत सम्बन्ध


भारतप्रति ट्रम्प आक्रामक हुनुका विभिन्न आयामहरू रहेको छ । अमेरिका भारतसँग चिढिएको कारणमध्ये भारतको कृषि क्षेत्रमा रहेको संरक्षणवाद नीति रहेको छ । अमेरिकाको उद्देश्य नै अमेरिकी कृषि उत्पादन भारतीय बजारमा उपलब्ध गराउनु हो 

विपिन देव

भूराजनीति र भूअर्थनीतिको अध्येताका लागि उतारचढावको गोलचक्करमा रहेको अमेरिका– भारत सम्बन्ध रुचीकर विषय रहि आएको छ । भारतको स्वतन्त्रता सँग्राममा अमेरिकी प्रजातान्त्रिक चिन्तन पद्धतिको गहिरो प्रभाव रहेको थियो । स्वतन्त्रता सँग्रामका मूर्धन्य व्यक्तित्वहरू जयप्रकाश नारायण र डा. अम्वेडकर अमेरिकी विश्व विद्यालयबाट शिक्षित र दिक्षित थिए । त्यस्तै अमेरिकी जनजीनवमा गान्धीवादको अद्भूत प्रयोग गरेर मार्टीन लुथरले अमेरिकी समाजमा विभेदको पर्खाललाई भत्काउन भगिरथ प्रयास गरे । खुला समाज, प्रजातान्त्रिक पद्धति, उदार अर्थव्यवस्था, प्रेश स्वतन्त्रता र संघीय संरचना जस्ता समरुपता भए तापनि इतिहासको आरोह र अवरोहमा अमेरिका र भारतबीच सामरिक नीतिमा एकरुपता रहेको पाइदैन ।

भारतीय परराष्ट्र नीतिका जनक पण्डित नेहरुले आफ्नो पुस्तक ‘डिसकोभरी अफ इण्डिया’ मा अमेरिकी समाजमा पुँजीवादको प्रयोगको वारेमा चर्चा गरेका छन । शित युद्धको सुरुवातदेखि नै भारत सामरिक रूपमा सोभियत रुससँग नजिक रहदै आएको थियो । अमेरिकी राष्ट्रपति जोनएफ केनेडीले नेहरुको असंलग्न परराष्ट्र नीतिको उपहास सन १९६२ मा भारत–चीन युद्धताका गरेका थिए । कालान्तरमा नेहरुको असंलग्नता सामरिक स्वायत्तातामा (स्ट्राटेजिक अटोनोमी) मा रूपान्तरित भयो । नेहरुपश्चात लालबहादुर शास्त्रीले अमेरिकी भियतनाम नीतिलाई निन्दा गर्दा अमेरिकाले गहु निर्यात नगर्ने चेतावनी दिएका थिए ।

उक्त चेतावनीलाई अवसरमा परिणत गर्दैै शास्त्रीले ‘जय जवान र जय किशान’ को नारा दिँदै प्रत्येक भारतीयलाई एक दिनको उपवास बस्ने घोषणा गर्दै त्यसको अनुष्ठान आफ्नो प्रधानमन्त्री निवासबाट नै सूरु गरेका थिए । शास्त्रीको नीतिले गर्दा भारत खाद्यानमा आत्मर्निभर भएको थियो । सन १९७१ म बंगलादेश विभाजनताका अमेरिकाले भारतलाई युद्धको धम्की दिएको थियो । अमेरिकाले पाकिस्तानको पक्ष लिँदै बंगालको खाडीमा आफ्ना ‘सेलेन फिलिट’ (युद्ध पोत) समेत तैनाथ गरेको थियो । प्रतिउत्तरमा भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्थीले सन् १९७१ मा सोभियत रुससँग शान्ति सम्झौता गरेर अमेरिकी दवावलाई निस्तेज गर्दै वंगलादेशको धाईआमा बन्न सफल भएकी थिइन ।

सन १९९८ मेमा अटल विहारी वाजपेयीको नेतृत्वमा भारतले पोखरनमा आणविक परीक्षण गर्दा अमेरिका, अष्ट्रेलिया, जापानलगायत कैयौं युरोपेली राष्ट्रहरूले भारतविरुद्ध आर्थिक नाकावन्दी गरेका थिए । बाजपेयीको कूटनीति र अर्थनीतिको प्रभावले गर्दा भारतको अर्थतन्त्रमा कुनै असर भएन । चूनौतीलाई अवसरको रूपमा परिणत गर्न सफल भए । वर्तमाण परिवेशमा भारत–अमेरिका सम्बन्ध त्यही मोडलमा उभिएको छ ।

भूराजनीतिक तरलताले अमेरिका र भारतबीच सहयात्राको अपेक्षा गर्दा गर्दै पनि अमेरिक-भारत सम्बन्ध ट्रम्पको कर नीति (टेरिफ) ले गर्दा तनाव ग्रस्त देखिएको छ । इण्डोनेसिया मा १९ प्रतिशत, फिलिपिन्समा १९ प्रतिशत, जापानमा १५ प्रतिशत, यूरोपेली युनियनमा १५ प्रतिशत टेरिफको साथै उनले भारतीय वस्तुको २५ प्रतिशत टेरिफको घोषणा गरेका छन् । ट्रम्पको कर नीतिको परकम्पन भारत–अमेरिका सम्बन्धमा पर्ने जानकारहरूको बुझाई रहेको छ ।

अमेरिकी सामरिक जानकार एसले टेलिसले आफ्नो शोधपत्र ‘इण्डिया ग्रेट पॉवर डिलुजन’ मा भारतको समग्र विकास अमेरिकी हितमा रहेको चर्चा गरेका छन् । अर्थात् एसियामा शक्ति सन्तुलन कायम गर्न र खुल्ला विश्व व्यवस्थामा सक्रिय हुन भारत बलियो हुन आवश्यक देखिएको छ । टेलिस अनुसार अब्वल भारतले नै चीनको बढ्दो दवदवालाई सन्तुलन गर्न सक्दछ । भारतका पूर्वराजदुत निरुपमा रावले ट्रम्पको टेरिफ नीतिको भारतीय अर्थतन्त्रमा आंशिक प्रभाव पर्ने स्वीकार गरेकी छिन ।

भारतीय परराष्ट्र नीति भारतको राष्ट्रहितद्वारा परिचालित भएको कारणले गर्दा भारत सरकार अमेरिकी दवावमा नआउने समेत उनले आँकलन गरेकी छिन् । भारत हिन्द महासागरको काखमा भएको कारणले गर्दा हिन्दप्रसान्त क्षेत्रलगायत सम्पूर्ण युरेसियन क्षेत्रमा भारत संन्तुलित नीतिको साथ अघि बढिरहेको निरुपमा रावको आँकलन रहेको छ ।

‘विश्व शास्त्र’ जस्ता चर्चित पुस्तकका लेखक ध्रुव जयशंकरले ट्रम्पको नीतिलाई प्रश्नको घेरामा राखेका छन् । ध्रुवका अनुसार भारतसँग सामरिक नीति बनाउँदा अमेरिकाले आफ्नो सुरक्षा साझेदार (एलाई) जस्तो नीति लिनु हुदैन । अर्थात यूरोपेली यूनियन, अष्ट्रेलिया र जापान अमेरिकाको सुरक्षा साझेदार रहेको छ । यी मुलुकहरूमा सुरक्षा प्रत्याभूत गर्ने दायित्व अमेरिकाले लिएको छ । तर भारतलाई अमेरिकी सुरक्षा अनुदान, सैनिक, वेस क्याम्पलगायत कुनै सम्झौताको छाँयाको आवश्यक्ता नरहेको उनको तर्क रहेको छ ।

यस तर्कबाट अमेरिकी सामरिक जानकार एसेली टेलिस सहमत रहेको देखिदैन । उनका अनुसार भारतको भूराजनीतिक अवस्थाले गर्दा अमेरिकी सहयोग आवश्यक रहेको छ । चीनसँग गलवान घाटीमा तनाव बढ्दा अमेरिकाले आवश्यक सूचना भारतलाई प्रवाह गरेको थियो । चीन र पाकिस्तानको बढ्दो गठजोडको कारणले गर्दा भारतलाई अमेरिकी सहयोग र सहानुभूतिको टड्कारो आवश्यक्ता रहेको तर्क एसली टेलीसको रहेको छ ।

वर्तमान परिवशेमा ट्रम्पको भारतरसियाको बढ्दो व्यापारिक सम्बन्ध प्रति गम्भीर आपत्ति रहेको छ । विगतका दिनमा रसियाबाट २ प्रतिशत कच्चा तेल खरिद गरिरहेका भारत वर्तमान अवस्थामा ३६ प्रतिशत खरिद गरिरहेको छ । ट्रम्पले भारतीय र रसियाको अर्थव्यवस्थालाई ‘डेड एकनोमी’ (मृत व्यवस्था) को रूपमा संज्ञा दिएका छन । जबकी अन्तर्राष्ट्रिय मुद्राकोश, विश्व वैंक, वालस्ट्रीट जस्ता नामुद संस्थाको सर्वेक्षणले भारतलाई विश्वको सबभन्दा तीब्र दरले अगाडि बढिरहेको अर्थतन्त्रको रूपमा आँकलन गरेका छन् । श्रोतको अध्ययन अनुसार सन् २०३० सम्ममा नै भारत विश्वको तेस्रो अर्थतन्त्र हुने सम्भावना रहेको छ । रसियालाई समेत ट्रम्पले ‘डेड एकनोमी’ भनेका छन । जो तत्थ परक देखिदैन ।

सन् २०२४ मा रसीयाको आर्थिक विकास दर तीन दशमलब एक रहेको थियो जबकी विटेन, इटाली लगायत अन्य यूरोपेली देशहरूको विकास दर एक प्रतिशतको रहेको थियो । अमेरिका र यूरोपेली युनियनको आर्थिक नाकाबन्दीको बाबजुद पनि रसीयाले प्रति वर्ष २० लाख ड्रोन उत्पादन गरेको छ । प्रत्येक दिन रसीयाले पाँच हजार ड्रोन उत्पादन गर्दै आएको छ ।

अर्को शब्दमा भन्ने हो भने ट्रम्पको अभिव्यक्ति धरातलीय तथ्यसँग जोडिएको देखिदैन । भारतप्रति ट्रम्प आक्रामक हुनुका विभिन्न आयामहरू रहेको छ । अमेरिका भारतसँग चिढिएको कारणमध्ये भारतको कृषि क्षेत्रमा रहेको संरक्षणवाद नीति रहेको छ । अमेरिकाको उद्देश्य नै अमेरिकी कृषि उत्पादन भारतीय बजारमा उपलब्ध गराउनु हो ।

अमेरिकी वस्तुहरूमा ३५ देखि ३७ प्रतिशतसम्म भारतले कर लगाउँदै आएको छ । जबकी भारतीय उत्पादनमा अमेरिकाले ५ प्रतिशत मात्र कर लगाएको देखिन्छ । अमेरिकी लगानी र वस्तु निर्वाध रूपमा भारतीय बजारमा प्रवेश गरेको खण्डमा भारतीय उत्पादनमा व्यापक ह्रास आउने जानकारहरूकाने बुझाई रहेको छ ।

भारतका ७० करोड जनता कृषिमै निर्भर रहेका छन । जबकी अमेरिका २ करोड जनतामा मात्र कृषीमा निर्भर देखिएको छ । प्रत्येक भारतेली किसान सरकारबाट ५० हजार वार्षिक अनुदान (बससिडि) प्राप्त गर्दै आएका छन भने अमेरिकामा प्रत्येक किसानले बार्षिक ५६ लाख भारतेली मुद्रा सरकारबाट प्राप्त गर्ने गरेको वर्तमान परिवेशमा कृिष क्षेत्रमा भारत अमेरिकासँग प्रतिसप्रर्धा गर्न सार्मथ नराखेको हुँदा भारत अमेरिकी दवावमा नरहेको कुरा जानकारहरूको बुभाई रहेको छ ।

ट्रम्पको टेरिफको दोस्रो महत्वपूर्ण कारणको रूपमा अमेरिकाको पाकिस्तानसँग अपरेशन सिन्दुरताका भारत–पाकिस्तानबीचको द्विपक्षीय द्वन्दलाई समाप्त गर्न ट्रम्पले आप्mनो भूमिका खोजेको थियो । तर भारतीय पक्षले ट्रम्पको व्यक्तित्वको द्वन्द शिथिलिकरणमा कुनै पनि हात नभएको कुरा उद्घोष गरेका थिए । पाकिस्तानले अमेरिकालाई द्वन्द शिथिलिकरणमा सहभागी बनाउन खोजे पनि भारतलाई उक्त प्रस्ताव मान्य नहुने सामरिक जानकारहरूको आँकलन रहेको छ ।