जनता टाइम्स

१ भाद्र २०८२, आईतवार ११:१०

मिर्गौला फेल भएका रामेछापका साजन कार्कीलाई सहयोगको आह्वान


रामेछाप, भदाै १ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुका २३ वर्षीय साजन कार्कीलाई मिर्गौला प्रत्यारोपणका लागि सहयोग गर्न परिवारले सार्वजनिक रूपमा अपिल गरेको छ ।

२०७८ सालमा मिर्गौला प्रत्यारोपण गरिएका कार्कीको मिर्गौला फेरि फेल भएपछि पुनः प्रत्यारोपणको आवश्यकता परेको परिवारले जनाएको छ । विवाहित कार्कीको १५ महिनाकी एक छोरी छिन् । उहाँको रगत समूह ‘ओ पोजेटिभ (O+)’ भएको र श्रीमती सुजिता सुवेदी कार्की स्वयं प्लाज्मा परीक्षण गरेर मिर्गौला दिन तयार भएको परिवारले जनाएको छ । तर प्रत्यारोपणको लागि आवश्यक खर्च जुटाउन नसक्दा परिवार समस्यामा परेको छ । ‘भएका रकम पहिलो पटकमै सकियो, फेरि प्रत्यारोपण गर्नु पर्ने अवस्था आयो,’ बिरामीका बाबु हरि कार्कीले बताउनुभयो ।

साजनको जीवन बचाउन सहयोगका लागि देश–विदेशमा रहेका नेपालीलाई अपिल गरिएको छ । लिखुतामाकोशी गाउँपालिका–६ खिम्तीका वडाध्यक्ष शिवप्रसाद न्यौपानेले ‘मानव भएर जन्मिएका हामी सबैले यो युवा जीवन बचाउन सहयोग गर्नुपर्ने बेला आएको’ भन्दै सबैलाई हातेमालो गर्न आग्रह गर्नुभएको छ ।

कार्कीको मिर्गौला ट्रान्सप्लान्ट गरी जीवन बचाउन धेरै रकम आवश्यक भएको र हालसम्म भएको जायजेथा बेचबिखन गरेर उपचार भइरहेको भए पनि अझै ठूलो रकम आवश्यक पर्ने देखिएको वडाध्यक्ष न्यौपानेले जानकारी दिनुभयो । उपचारमा अत्यधिक खर्च भएपछि बिरामीको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक बनेको र आफन्तहरूले बारम्बार सहयोगका लागि अनुरोध गरिरहेको उहाँले बताउनुभयो ।

सहयोग गर्न इच्छुकहरूले साजन कार्कीको मोबाइल नम्बर ९८६५०६५३५६ वा e-Sewa मार्फत रकम पठाउन सक्ने व्यवस्था गरिएको छ । त्यस्तै थप जानकारी र समन्वयका लागि वडाध्यक्ष शिवप्रसाद न्यौपाने (९८५१०९५५५६), भागवत घिमिरे (९८४१०७९१७९), दुर्गा श्रेष्ठ (९८५४०४३२२५) लगायतका व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ । सङ्कलित सहयोग रकम भदौ १० गते बिरामीको परिवारलाई उपलब्ध गराइने भएकाले सकेको सहयोग छिट्टै गर्न समेत उहाँले आग्रह गर्नुभएको छ ।

यसअघि निवेदनमार्फत प्रधानमन्त्रीसमक्ष समेत सहयोगको आग्रह गरिएको र उहाँको सचिवालयबाट सकारात्मक आश्वासन प्राप्त भएको वडाध्यक्ष न्यौपानेले उल्लेख गर्नुभएको छ ।