जनता टाइम्स

२ भाद्र २०८२, सोमबार ०९:४६

वडाध्यक्ष सन्तोष पौडेल : सधैँ जनताको बिचमा, सधैँ श्रमदानमा 


रामेछाप, भदौ २ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ सैपुका वडाध्यक्ष सन्तोष पौडेललाई असार लागेदेखि एक दिन पनि फुर्सद छैन ।

अन्य जनप्रतिनिधिहरू भाषण गर्न अरूका कुरा काट्न व्यस्त छन् तर पौडेललाई यी सबै कुरा गर्ने फुर्सद छैन । उहाँ असार लागेदेखि दैनिक जसो श्रमदानमा जुट्नु भएको छ । स्थानीयको साथ लिएर उहाँ दैनिक सडक मर्मत, गर्ने पहिरो हटाउने र आवागमनलाई सहज बनाउने काममा खट्नु भएको छ ।

बिहान उज्यालो हुने बित्तिकै काँधमा गल, साबेल र गैँची हालेर स्थानीयका साथमा सडकमा निस्कने पौडेल साँझ मात्रै घर पुग्नु हुन्छ । दिनभरि सडक बिग्रिएको ठाउँमा स्थानीयको साथ लिएर मर्मतको काममा लाग्नु हुन्छ । जरुरी काम पर्‍यो भने वडामा पुग्नु हुन्छ, धेरै कामत सडकबाट गरिदिनु हुन्छ ।

कमजोर भूबनोट र कच्ची सडकमा नियमित यातायात सञ्चालन चुनौतीपूर्ण बनेको छ । पौडेल वडाध्यक्ष निर्वाचित भएदेखि त्यही चुनौतीको सामना गरिरहनु भएको छ । ‘गाउँपालिकाले पैसा दिँदैन, वडासँग पैसा छैन, बाढी पहिरोले बाटो बिगार्छ, यातायात रोकिन्छन्, आफ्नो वडा मात्र लिखु तामाकोशीकै वडा नं १ दुरागाउँदेखि, उमाकुण्ड गाउँपालिकासम्म र ओखलढुंगाको खिजिदेम्बासम्म पुग्ने सर्वसाधारण रोकिन्छन्, एम्बुलेन्स समेत चल्दैनन्, बिरामीको ज्यान नै जान सक्छ, त्यसैले रातदिन नभनी सडक सुचारु गराउन खटेका छौँ, स्थानीय र वडाका अन्य जनप्रतिनिधिले पनि राम्रो साथ दिनुभएको छ’, नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष पौडेल भन्नुहुन्छ ।

सडकमा मात्र होइन पौडेल हिउँदभरि विद्युत्को तार फेर्न श्रममा खट्नु भएको । नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा वडाले श्रमदानबाटै खुल्ला विद्युत् तार हटाएर प्लास्टिक कोटेड विद्युत् तार तानेको छ । वडाका अधिकांश भागमा सुरक्षित विद्युत् तार जोड्ने काम भइसकेको छ । जसमा स्थानीयको पनि उल्लेख्य सहभागिता थियो ।

हुन त सन्तोषले यो दुःखको बाटो आफैले रोज्नु भएको हो । खाँदाखाँद माविको हेडमास्टरको जागिर बिचमा नै छाडेर उहाँले वडाध्यक्ष हुनुभएको हो । ‘त्यहाँ बच्चाहरूलाई पढाएर ज्ञान बाँड्दा एक खालको मजा थियो, यहाँ जनताको बिचमा जनताकै लागि काम गर्दा अर्को खालको मजा छ’, पौडेलले भन्नुभयो ।

‘यो कहिलेसम्म ?’ पौडेलको सहज जवाफ छ–‘जहिलेसम्म आवश्यकता पर्छ त्यतिबेलासम्म ।’