जनता टाइम्स

२ भाद्र २०८२, सोमबार १९:२२

अहिले एकथरि मानिसहरू असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याएकै छन् : गगन थापा 


काठमाडौं, भदौ २ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले एकथरि मानिसहरू नागरिकको असन्तुष्टिको आगोमा मट्टितेल खन्याउने काममा लागेका बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै थापाले अहिले जता गए पनि रिस, असन्तुष्टि र आक्रोस भएको बताउनुभयो । ‘त्यो असन्तुष्टिको आगोमा मट्टितेल खन्याएको खन्याएकै छन् एकथरि, मट्टितेल ल्याएका छन्, पेट्रोल हालेका छन्, जे जे हाल्नु पर्ने हो हालेका छन्, दनदन बालिरहेका छन्, त्यसको आगोमा वरिपरि बसेर गाली गर्ने काम भइरहेको छ, कसले गरिरहेको छ, किन गरिरहेको छ, तिनलाई हामी चिन्छौँ, थाहा छ’, उहाँले भन्नुभयो ।

असन्तुष्टिको आगोमा कसले मट्टितेल थपिरहेको छ भन्ने कुरा थाहा पाएको भए पनि त्यो असन्तुष्टि किन बढिरहेको छ भन्ने कुरामा पनि सचेत हुनु पर्नेमा उहाँले जोड दिनुभयो । असन्तुष्टिको आगो निभाउनु पर्ने जिम्मेवारी नेपाली कांग्रेसको हातमा रहेको उहाँले बताउनुभयो । कांग्रेस संघ, प्रदेश र स्थानीय तहसम्म सरकारमा रहेकाले समस्याको हल गर्ने तर्फ लाग्नु पर्नेमा थापाले जोड दिनुभयो ।

उहाँले अहिले देखिएको समस्याको हल गर्ने आत्मविश्वास कांग्रेस भित्र हुनु पर्ने बताउनुभयो । त्यसको लागि कांग्रेस भित्र सुद्धिकरण आवश्यक रहेको थापाले स्पष्ट पार्नुभयो ।