जनता टाइम्स

२ भाद्र २०८२, सोमबार २२:१६

पार्टी एकता दृढ गरौँ, आन्तरिक विषयमा तरङ्गित नबनौँ : प्रदीप ज्ञवाली 


काठमाडौं, साउन २ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी विधान महाधिवेशनको पूर्वसन्ध्यामा आन्तरिक रूपमा उठेका विषयहरूमा तरङ्गित नहुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ।

पार्टीको जनवर्गीय संगठन भूमि अधिकार तथा श्रमिक संगठन नेपालको केन्द्रीय कमिटीको दोस्रो बैठकलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ज्ञवालीले संस्थागत निर्णयको पक्षमा उभिनु सबै नेता तथा कार्यकर्ताको दायित्व भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीमा केन्द्रले गरेको निर्णयको पालना मातहतका कमिटीले गर्नुपर्दछ, त्यसैले पार्टी केन्द्रले गरेका निर्णयलाई अक्षरशः पालना गर्नु सबै कार्यकर्ताको जिम्मेवारी हो।’

ज्ञवालीले भूमि अधिकार तथा श्रमिक संगठनलाई वर्गीय मुद्दा उठाउने अग्रपङ्क्ति संगठनको रूपमा परिचित गराउँदै, सो वर्गका मुद्दाप्रति एमाले सदैव गम्भीर रहेको स्पष्ट पार्नुभयो। उहाँले एमाले सरकार बनेको बेला भूमि आयोग गठन हुने र त्यसको फलस्वरूप भूमिहीनले लालपुर्जासहित जमिन प्राप्त गर्ने तथ्यलाई स्मरण गराउनुभयो।

कार्यक्रममा  पार्टी स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय प्रमुख भानुभक्त ढकालले वर्तमान सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा मात्रै पार्टीको भविष्य सुरक्षित हुने धारणा राख्नुभयो। उहाँले कार्यकर्तालाई नेतृत्वको पक्षमा दृढतापूर्वक उभिन आह्वान गर्दै ओलीबिनाको एमालेको परिकल्पना असम्भव रहेको बताउनुभयो ।

पार्टी पोलिटब्युरो सदस्य एवं संगठनकी इन्चार्ज शान्ता चौधरीले भूमिहीन र सुकुम्वासीको समस्या समाधान गर्ने क्षमता एमालेमा मात्र रहेको दाबी गर्नुभयो। कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था नगरी बसोबास गरेको स्थानबाट उठाउन नपाइने उल्लेख गर्दै चौधरीले त्यस्ता अन्याय र ज्यादती भएमा संगठन अग्रपङ्क्तिमा उभिने प्रतिबद्धता जनाउनुभयो।

बैठकले भूमिहीन र श्रमिक वर्गका मुद्दालाई प्रभावकारी ढङ्गले अघि बढाउने तथा पार्टीलाई विधान महाधिवेशनतर्फ एकताबद्ध रूपमा लैजाने निष्कर्ष निकालेको छ।