रामेछाप, भदाै ६ । कुनै समय ओखलढुङ्गासँग जोडिने मुख्य प्रवेशद्वारको रूपमा रहेकाे रामेछापको ऐतिहासिक साँघुटार बजार अहिले सुनसान बन्दै गएको छ। राजधानी काठमाडौं आउजाउ गर्ने यात्रुहरूको प्रमुख बाटोको रूपमा चर्चित यो बजार अहिले इतिहासकै भरोसामा बाँचेको जस्तो देखिन्छ।
पूर्वका ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु र भोजपुरसम्मका मानिसहरू काठमाडौं आउजाउ गर्दा अनिवार्य रूपमा ओर्लिनुपर्ने केन्द्र नै साँघुटार थियो। तर समय र सडक सञ्जालको विस्तारसँगै यसको व्यापारिक र सामाजिक महत्त्व खुम्चिँदै गएको छ।
झोलुङ्गे पुलसँगै सुरु भएको बजारको चहलपहल
विसं १९६४ सालतिर लिखु खोलामाथि झोलुङ्गे पुल बनेपछि साँघुटारमा आवतजावत बढेको थियो। स्थानीय बासिन्दा मात्र नभई भक्पुरबाट आएका ब्यापारीहरुले पनि साँघुटारलाई पसल गर्ने थलो बनाउन थाले। त्यही बेला यहाँ पहिलो पटक ‘नाङ्ले पसल’ सुरु भएको स्थानीय व्यापारीहरूको भनाइ छ।
नेवार र भौकाजी व्यापारीको योगदान
पुरानो पुस्ताका व्यापारी बद्रीदास भौकाजीका अनुसार, १९८५ सालतिर भक्तपुरबाट आएका उहाँका हजुरबाले यस बजारमा व्यापार सुरु गर्नु भएकाे थियाे। त्यसअघि गाेठपानीका एक नेवार व्यापारीले यहाँ पसल सञ्चालन गर्दै आउनुभएकाे थियाे।

“हजुरबाले सुरु गरेको व्यापारलाई हामीले पुस्तौँसम्म धान्यौँ, एक समय सामान दिनसमेत भ्याइनभ्याइ हुने गर्दथ्यो, अहिले भने ग्राहक पर्खेर बस्नुपर्ने अवस्था आएको छ,” भौकाजीले विगत र वर्तमानको तुलना गर्दै भन्नुभयाे ।
पुराना घर मासिँदै, हराउँदै मौलिकता
साँघुटार बजारमा अहिले पनि ढुङ्गा–माटोले बनेका एकै किसिमका पुराना घरहरू देख्न सकिन्छ। चारतले सम्मका घरहरूमा अहिले बाहिरबाट सिमेन्ट पोतिएका छन् । कतिपय ठाउँमा नयाँ सिमेन्टका घर निर्माण हुन थालेका छन्। पुराना घरहरूले बजारलाई ऐतिहासिक स्वरूप दिइरहेका भए पनि संरक्षण र पुनर्निर्माणमा बेवास्ता हुँदा मौलिकता हराउँदै गएको छ।
संरक्षणको खाँचो
साँघुटार बजार आफैँमा करिब एक सय वर्षको इतिहास बोकेको जीवित सम्पदा हो। तर, यसको महत्वबारे औपचारिक संरक्षण कार्यक्रम नआएको व्यापारी तथा स्थानीयहरू बताउँछन्। उनीहरूका अनुसार, तत्काल संरक्षण पहल नलिए यस बजारको ऐतिहासिक स्वरूप माटोमा हराउने खतरा बढेको छ।













प्रतिक्रिया दिनुहोस्