काठमाडौं, भदौ ६ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालीले आफ्नो क्षमता देखाउनै नपाएको बताउनुभएको छ ।
शुक्रबार काठमाडौं स्थित ज्ञानज्योति महिला माध्यमिक विद्यालयको २० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालीले आफ्नो क्षमता देखाउने अवसर पाउने हो भने धेरै काम गर्न सक्ने बताउनुभयो । ‘हामी नेपालीहरूमा क्षमता छैन भन्ने होइन, क्षमता छ, तर त्यो क्षमतालाई उजागर गर्न सकिरहेका छैनौँ’, उहाँले भन्नुभयो ।
उहाँले शिक्षा क्षेत्रका समस्या समाधान गर्न राज्यले गम्भीर ध्यान दिनुपर्ने बताउनुभयो । ‘अहिले शिक्षकहरूका बारेमा विधेयक बन्दै छ, राज्यले सामुदायिक र सरकारी विद्यालयहरूलाई कसरी गुणस्तरीय बनाउने भन्नेमा प्राथमिकता दिनुपर्छ’, कोइरालाले भन्नुभयो ।
शिक्षकको कम तलबले विद्यार्थीको पढाइमा प्रत्यक्ष असर पार्ने उहाँको भनाइ छ । शिक्षा नै राष्ट्रको समृद्धिको मूल आधार भएको उल्लेख गर्दै उहाँले शिक्षा क्षेत्रमा लगानी गर्न सरकारलाई आग्रह गर्नुभयो ।
कुनै पनि देशलाई विश्वमा चिनाउने माध्यम शिक्षा नै हो भन्ने बुझ्न जरुरी रहेको उहाँले बताउनुभयो । ‘देशको आर्थिक अवस्था कमजोर छ तर शिक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो’, उहाँले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्