जनता टाइम्स

६ भाद्र २०८२, शुक्रबार १४:२९

पार्टी निर्णय सबैले मान्नु पर्छ, त्यो केपी ओलीले पनि मान्नु पर्छ, विद्या भण्डारीले पनि मान्नु पर्छ : डा. राजन भट्टराई 


रामेछाप, भदौ ६ । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं वाग्मती प्रदेश इञ्चार्ज डा.राजन भट्टराईले नेकपा एमाले राष्ट्र हितको पक्षमा उभिने पार्टी भएको बताउनुभएको छ ।

नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकलाई शुक्रबार मन्थलीमा सम्बोधन गर्दै भट्टराईले नेपाललाई जानकारी नदिई भारत र चीन बिच लिपुलेक नाका सञ्चालन गर्ने विषयमा भएको सहमति एमालेलाई स्वीकार्य नभएको बताउनुभयो । केपी ओली नेतृत्वको वर्तमान सरकारले सो विषयमा जानकारी आउने बित्तिकै आपत्ति जनाएको उहाँले स्मरण गराउनुभयो । ‘सबैभन्दा पहिला गृह मन्त्रालयले विज्ञप्ति निकालेर विरोध जनाएको हो, हामी राष्ट्र र राष्ट्रिय अखण्डताको पक्षमा प्रतिबद्ध छौँ’, उहाँले भन्नुभयो ।

विकास र राष्ट्रियताको अगुवाइ गर्ने पार्टी नेकपा एमाले नै भएको उहाँले बताउनुभयो । भट्टराईले एमाले सरकारमा हुँदा र अरू सरकारमा हुँदा गरेको काम तुलना गरेर हर्न चुनौती दिनुभयो । ‘हामी कुनै क्षेत्रमा पछाडि परेका रहेछौँ भने कान समातेर उठबस गर्न तयार छौँ’, उहाँले भन्नुभयो।

विकास र राष्ट्रिय स्वाभिमानको पक्षमा काम गरेको कारण एमालेलाई धुलोमा मिलाउने प्रयास भएको उहाँले बताउनुभयो । एमाले धुलोबाट उठेर फेरी सत्तामा फर्किएको उहाँले दाबी गर्नुभयो ।

२०८४ सम्म यो गठबन्धनलाई कायम गरेर जाने र कसैसँग गठबन्धन नगरी चुनाव लड्ने उहाँले बताउनुभयो । एक्ला एक्लै चुनाव लड्दा एमालेले बहुमत प्राप्त गर्ने उहाँले दाबी गर्नुभयो ।

देशको राजनीतिलाई अहिलेको अवस्थासम्म डोर्‍याएर ल्याउने नेता केपी ओली भएको उहाँले बताउनुभयो । यसबाट जलन भएकाहरू अहिले एक भएर एमाले र केपी ओली माथिको आक्रमणमा उत्रिएका भट्टराईको भनाइ छ । ‘केपी ओली बिनाको एमाले बनाउन सफल भएको भोलिपल्ट एमाले बिनाको नेपालको नारा आउँछ, केपी ओली विरुद्धको प्रहार एमाले विरुद्धको प्रहार हो, यो एमाले पङ्तिले बुझ्न जरुरी छ’, उहाँले भन्नुभयो ।

भट्टराईले पार्टीले गरेको राम्रो कामको चर्चा पार्टीका नेता कार्यकर्ताले गर्न नसक्नु  विडम्बना भएको उहाँले बताउनुभयो । ‘विचार, नारा र कार्यक्रमले मात्र भनिरहेका छैनौँ, एमाले काम गर्ने पार्टी हो भनेर व्यवहारमा नै प्रमाणित गरेर देखाएका छौँ’, उहाँले भन्नुभयो ।

संवैधानिक राष्ट्राध्यक्ष भएको गणतन्त्रात्मक मुलुकमा राष्ट्रपति भएको व्यक्ति पुनः सक्रिय राजनीतिमा आएको उदाहरण नभएको बताउँदै उहाँले नेपालका पूर्वराष्ट्रपति पनि सक्रिय राजनीतिमा आउन नहुने उहाँले स्पष्ट पार्नुभयो । अन्तर्राष्ट्रिय अभ्यास, संविधानको मर्म र भावनाको आधारमा पनि विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नहुने उहाँले स्पष्ट पार्नुभयो । ‘पार्टी निर्णय सबैले मान्नु पर्छ, त्यो केपी ओलीले पनि मान्नु पर्छ, विद्या भण्डारीले पनि मान्नु पर्छ’, उहाँले भन्नुभयो ।

उहाँले विद्या भण्डारी पार्टीको सक्रिय राजनीतिमा नआई नहुने के अवस्था आयो भन्दै उहाँले प्रश्न गर्नुभयो । भट्टराईले भण्डारीले यस अगाडि कुनै लाभ नलिएको र अन्यायमा परेकाे स्थिति पनि नरहेको भट्टराईले स्पष्ट पार्नुभयो ।

पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षता सुरु भएको बैठक २ दिनसम्म चल्ने पार्टी जिल्ला कमिटी सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । बैठकमा वार्षिक आयव्यय विवरण, वार्षिक कार्ययोजना, जरा अभियानको रिपोर्ट, विधान संशोधन लगायतका विषयमा छलफल गरी निर्णय हुने पार्टी जिल्ला कमिटी अध्यक्ष कडरियाले जानकारी दिए । त्यस्तै जिल्ला पार्टीमा विभागको पूर्णता, प्रदेश क्षेत्रीय समन्वय कमिटी पूर्णता, जिल्ला सल्लाकार परिषद् गठन, सचिवालय गठन लगायतका विषयमा पनि निर्णय हुने उहाँले बताउनुभयाे ।

त्यस्तै पार्टीले मन्थलीमा निर्माण गरिरहेको मदन आश्रित स्मृति भवनका बारेमा पनि छलफल हुने कडरियाले जानकारी दिनुभयाे । बैठकले पार्टीको पालिका कमिटीका निर्णयहरू पनि अनुमोदन गर्ने छ ।

बैठकमा नेकपा एमाले पोलिटब्युरो सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कमलप्रसाद चौलागाईँ, केन्द्रीय सदस्य माधव ढुङ्गेल, गीता कार्की, जिल्ला भूगोले भएका प्रदेश कमिटीका नेताहरू लगायतका सहभागिता रहेको छ ।