जनता टाइम्स

७ भाद्र २०८२, शनिबार १७:५०

ओली सरकारको एक वर्षको स्पष्ट सन्देश-वन्दैछ देश


नेपाल अहिले विदेशी मुद्रा सञ्चिति बढाउँदैछ, निर्यात विस्तार गर्दैछ, उत्पादन क्षमतामा वृद्धि गर्दैछ र जनताको आयस्तर माथि उठ्दैछ । यही कारण, मुलुक अब अल्पविकसितको सूचीबाट बाहिरिएर विकासशील देशको यात्रा तय गर्दैछ ।

सञ्जय थापा

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको एक वर्ष नेपाली जनताका लागि आशा र सम्भावनाले भरिएको समयको रूपमा यादगार बनिरहेको छ । दशकौंको अस्थिरता र निराशापछि मुलुकले दृढ विश्वासका साथ ’समृद्ध नेपाल : सुखी नेपाली’ को दिशामा यात्रा अघि बढाएको छ भन्ने अनुभूति आज जनजीवनमा प्रत्यक्ष देखिन थालेको छ ।

बितेका एक वर्ष नेपाली जनताले सबैभन्दा छिटो अनुभूति गरेको उपलब्धि भनेको पूर्वाधारमा आएको परिवर्तन हो । वर्षौंदेखिको धुलो र हिलोले पीडित यात्रु अहिले सहज यात्रा अनुभव गर्न थालेका छन । ९३२ किलोमिटर कालोपत्रे सडकले गाउँ–सहर जोड्ने मात्र नभई वर्षायाममा जनजीवन सहज बनाएको छ । मुग्लिन–पोखरा सडक अहिले चार लेनमा निर्माण सम्पन्न भएको छ, वुटवल–नारायणगढ सडक दाउन्ने जस्तो ठाऊँमा तीन लेनको र अन्य सहर वजार क्षेत्रमा चार लेनको फराकिलो हुँदैछ ।

प्रधानमन्त्री ओली स्वयं कामको निरन्तर अनुगमनमा उत्रनुभएको अनुभुतिले देश बन्दैछ भन्ने अनुभुति गराइरहेको छ । यस्तै, काठमाडौं प्रवेश गर्ने नागढुंगा सुरुङ मार्ग छिट्टै सम्पन्न हुने अवस्थामा पुगेको छ । राजधानी प्रवेश सजिलो र छिटो हुने यो सुरुङले यात्रु र मालसामान दुवैको समय र खर्च बचत गर्नेछ । साथै, काठमाडौंबाट बाहिर निस्कने फास्ट ट्रयाकको निर्माणमा पनि तीव्रता देखिएको छ । शहरभित्रको रफ्तार वृद्धि गर्ने, ट्राफिक जाम कम गर्ने, र यातायातलाई आधुनिक बनाउने यो परियोजना राजधानीको जीवनशैलीमै ठूलो परिवर्तन ल्याउने छ । यससँगै सडकमा सुरक्षा, संकेत र सुविधा सुधारका अन्य धेरै काम पनि अघि बढिरहेका छन ।

खेलकुद क्षेत्रमा पनि यो वर्ष नयाँ अध्याय सुरु भएको छ । राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय स्तरको क्रिर्तिपुरमा क्रिकेट रंगशाला निर्माण सम्पन्नको चरणमा छ । यो युवा पुस्ताको आशा र राष्ट्रिय गौरवको प्रतीक बन्दै गएको छ । ऊर्जा र प्राकृतिक स्रोत व्यवस्थापनमा पनि महत्वपूर्ण प्रगति भएको छ । दैलेखमा पेट्रोलियम अन्वेषण सुरु हुनु र देशमै ११२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार पत्ता लाग्नु आत्मनिर्भर नेपाल निर्माणतर्फको ठूला संकेत हुन ।

शिक्षा क्षेत्रमा यस वर्ष उत्साहजनक सुधार देखिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १४ प्रतिशत वृद्धि भई सफलता दर ६२ प्रतिशत पुगेको छ । यसले अबको शिक्षा सुधार केवल कागजमा नभई व्यवहारमा पनि देखिन थालेको स्पष्ट सन्देश दिएको छ । अर्थतन्त्रमा नेपालले ऐतिहासिक प्रगति गरेको छ । आयातमा १३ प्रतिशत मात्र वृद्धि भए पनि निर्यातमा ७३ प्रतिशत वृद्धिले देशको उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजारमा प्रवेशको सम्भावना दुवै पुष्टि गरेको छ । कुल घरेलु उत्पादनमा चार खर्ब रुपैयाँभन्दा बढी वृद्धिले अर्थतन्त्र बलियो बनाएको छ भने राजस्व संकलनमा एक खर्बभन्दा बढी वृद्धि राज्यको विश्वास र क्षमता बढाउने संकेत हो । पूँजी बजारमा करिब एक हजार अंकको वृद्धिले लगानीकर्तामा नयाँ उत्साह र आत्मविश्वास जगाएको छ ।

स्वास्थ्य क्षेत्रमा पनि ठूलो सुधार देखिएको छ । स्वास्थ्य बीमा कार्यक्रम एक वर्षमै दोब्बर विस्तार भई लाखौं नागरिक लाभान्वित भएका छन । जनताको जीवनमा सहजता र सुरक्षा बढाउन सरकारले ठोस काम गरेको छ । यी सबै उपलब्धीहरू केवल रिपोर्ट मात्र होइनन, जनताले आफ्नै जीवनमा अनुभूत गरेका परिवर्तन हुन । सडकमा धुलो कम देखिनु, अस्पताल पुग्दा उपचारमा सहजता, छोराछोरीको पढाइमा सुधार, बजारमा लगानीकर्ताको आत्मविश्वास–यी सबैले जीवनस्तर सुधार भएको प्रमाणित गर्छन ।

नेपाल अहिले विदेशी मुद्रा सञ्चिति बढाउँदैछ, निर्यात विस्तार गर्दैछ, उत्पादन क्षमतामा वृद्धि गर्दैछ र जनताको आयस्तर माथि उठ्दैछ । यही कारण, मुलुक अब अल्पविकसितको सूचीबाट बाहिरिएर विकासशील देशको यात्रा तय गर्दैछ । प्रधानमन्त्री ओलीको नेतृत्वमा बितेको यो एक वर्ष इतिहासमा आशा, आत्मविश्वास र उपलब्धिले भरिएको वर्षका रूपमा स्मरण गरिनेछ। नेपाल वन्दैछ, अनि हामी सबै नेपाली पनि वन्दैछौं-समृद्ध र सुखी भविष्यतर्फ ।

(लेखक थापा प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष हुनुहुन्छ-सं)