जनता टाइम्स

७ भाद्र २०८२, शनिबार १७:५४

एमाले रामेछापको पाँचौँ पूर्णबैठक : केपी ओली पार्टी अध्यक्ष हुनुहुँदैन भन्ने कोही छ ? छैन 


रामेछाप, भदौ ७ । नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकले आउने पार्टीको महाधिवेशनमा केपी ओलीलाई पार्टी अध्यक्ष बनाउने एक मतले निर्णय गरेको छ ।

शनिबार सम्पन्न पार्टी जिल्ला कमिटी बैठकले यस्तो निर्णय गरेको हो । पार्टी अध्यक्ष पुरुषोत्तम कडरियाकाे अध्यक्षता तथा पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँको प्रमुख आतिथ्यतामा भएको बैठकको अन्तिममा पार्टी अध्यक्ष कडरियाले हललाई सोध्नु भयो–‘केपी अध्यक्ष बन्नु हुँदैन भन्ने कोही हुनुहुन्छ ?’

हलबाट जवाफ आयो– ‘छैन ।’

त्यस पछि अध्यक्ष कडरियाले भन्नुभयो–‘अब कुरा सकियो, आउने महाधिवेशनबाट केपी ओली पार्टी अध्यक्ष हुनुपर्छ भन्ने कुरामा नेकपा एमाले रामेछाप एकमत छ ।’

बैठकमा बोल्दै कडरियाले केपी ओली अध्यक्ष हुनुहुन्न भन्ने रामेछाप जिल्लामा कोही पनि नभएको बताउनुभयो । ‘पुर्वराष्ट्रपतिको विषयमा केही समस्या छ भने पार्टी केन्द्रले त्यो समस्या सुल्झाउनु पर्छ, तल सम्झाउनु पर्दैन अहिले, पार्टी केन्द्रीय कमिटीमा छलफल गरेर त्यो समस्या सुल्झाउनुस्, यो विषयलाई लिएर पार्टी र नेता कार्यकर्ताको समय बरबाद गर्ने काम नगरौँ’, उहाँले भन्नुभयो ।

बैठकमा बोल्दै पार्टी पोलिटब्युरो सदस्य कमल चौलागाईँले पनि केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनु पर्ने कुनै कारण नभएको बताउनुभयो । राष्ट्र र राष्ट्रियताको पक्षमा उभिने नेता केपी ओली भएकोले केपी ओलीलाई जगाउनु सबैको दायित्व भएको उहाँले स्पष्ट पार्नुभयो ।

बैठकले पार्टी केन्द्रले पठाएको विधान संशोधनको मस्यौदा माथि सुझाव दिएको छ भने जरा केन्द्रित अभियानका बारेमा पनि छलफल भएको छ ।