जनता टाइम्स

७ भाद्र २०८२, शनिबार २१:०६

खाँडादेवी मन्दिर परिसरमा फूल बगैँचा


रामेछाप, भदौ ७ । रामेछापको ऐतिहासिक धार्मिक शक्तिपीठ खाँडादेवी मन्दिर परिसरमा फूल बगैँचा निर्माण गरिएको छ ।

खाँडादेवी विकास कोषले मन्दिर परिसरलाई आकर्षक बनाउन मन्दिरको वरिपरि फूल बगैँचा बनाएको हो । मन्दिरको दुईवटा प्रवेशद्वारको वरिपरिको खालि रहेको जमिन तथा मन्दिरको चारैतिरको भागमा  विभिन्न जातका फूलका बिरुवाहरू लगाइएका छन् । यसरी बगैँचा बनाउँदा मन्दिरको थप आकर्षण बढ्ने भएकोले यो काम थालिएको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर तामाङ बताउनुहुन्छ ।

खाँडादेवी मन्दिर र मन्दिर परिसरमा पनि विकास कोषको अगुवाइमा पुरातत्त्व विभागले आकर्षक र चिटिक्क परेका संरचना बनाइदिएको छ । मन्दिर र मन्दिर परिसर पुरातात्त्विक हिसाबले बनाइएका छन् । त्यसको संरक्षण र मर्मत सम्भारको काम खाँडादेवी विकास कोषले गर्दै आएको छ ।

खाँडादेवीलाई निक्कै पुरानो शक्तिपीठ मानिन्छ । खाँडादेवी मन्दिरमा विसं १५७३ मा चढाइएको घण्ट तथा त्यस अघि चढाएको चाँदीका जन्तर लगायतका गहना अहिले पनि सुरक्षित छन् । त्यति बेला चढाएको घण्टी र दरबारले चढाएको सुन र चाँदीको जन्तरले यसको ऐतिहासिकतालाई पुष्टि गर्दछ ।

नेपाल एकीकरण गर्ने क्रममा राजा पृथ्वीनारायण शाहले पूर्वी किल्लालाई बलियो बनाउन सिन्धुलीगढी पछि खाँडादेवीमा सहायक गढीका रूपमा किल्ला बनाएका र लडाइँ जित्न खाँडादेवीसँग आशीर्वाद लिएको जनश्रुति छ । युद्ध जितेपछि खाँडादेवीको शिला दरबार लैजान तीन पटकसम्म प्रयास गर्दा पनि बाटोबाटै अलप भएर खाँडादेवीमा नै आएपछि पृथ्वीनारायण शाहले त्यही बेलादेखि खाँडादेवीमा रहेको कमलामाईलाई परेवा, मङ्गलादेवीलाई भाले, भैरवदेवीलाई राँगा, खाँडादेवीलाई हाँस र बोका तथा गणेशलाई कुखुराको पोथी बलि दिनु भनी आदेश दिनुभएको भन्ने जनश्रुति रहँदै आएको छ ।

पहिला दरबारबाट नै सो पूजाको लागि खर्च आउने गर्दथ्यो अहिले सो पूजा खाँडादेवी विकास कोषले गर्दै आएको छ ।