जनता टाइम्स

८ भाद्र २०८२, आईतवार १२:११

‘विद्या भण्डारी २-४ महिना कार्यालयको भाडा तिर्नुहुन्छ अनि घर फर्कनुहुन्छ, नसच्चिए ईश्वर-युवराज र सुरेन्द्र सकिन्छन’


भक्तपुर, भदौ ८ । नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भट्टराईले मदन भण्डारी फाउन्डेशन पार्टीविरुद्ध प्रयोग गर्न खोजिएको आरोप लगाउँदै यस्तो काम नरोकिए फाउण्डेशनको अस्तित्व नै समाप्त हुने चेतावनी दिनुभएको छ ।

नेपाल प्रेस सोसाइटीले आइतबार सूर्यविनायकमा आयोजना गरेको साक्षात्कारमा नेता भट्टराईले फाउन्डेशन एमालेको समानान्तर संरचना बन्न खोजेको भन्दै नसच्याइए आफै सकिने चेतावनी दिनुभएको हो ।

‘अहिलेसम्म फाउन्डेशनमा रहेर पार्टीमा काम गरिरहेका एमालेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीले फर्कन निर्देश गर्ने तयारी गरिरहेको छ । यसो गर्ने बित्तिकै मदन भण्डारी फाउन्डेशनको वर्तमान अस्तित्व समाप्त हुनेछ,’ भट्टराईले भन्नुभयो ।

उहाँले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै फाउण्डेशनलाई राजनीतिको थलो बनाउन खोजिएको प्रयास असफल हुने बताउनु भयो । ‘फाउन्डेशनमार्फत पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक गतिविधि गर्ने जुन सोच्नुभएको छ, त्यो अवसर पार्टीले दिने छैन,’ भट्टराईले भन्नुभयो, ‘त्यसो नहुने बित्तिकै उहाँ घर फर्केर सम्मानित रूपमा पूर्वराष्ट्रपतिकै रूपमा जीवन बिताउनु हुनेछ । जुन संरचना नै रहँदैन त्यहाँ बसेर राजनीति गर्छु भन्ने कुरा नै रहँदैन, उहाँले २-४ महिना भाडा तिर्नुहुन्छ, घर फर्कनुहुन्छ ।’

उहाँले एमालेभित्रको अन्य नेताहरुलाई समेत फाउण्डेशन र पार्टीबीच एक छनोट गर्न सुझाव दिनुभयो । ‘ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, युवराज ज्ञवालीलाई म के भन्न चाहन्छु भने तपाईहरू फाउण्डेशनको नेता बन्न चाहनुहुन्छ कि एमालेको नेता ? फाउण्डेशनको नेता बन्न चाहनुहुन्छ भने त्यो अर्कै कुरा हो, पार्टीको नेता बन्न चाहनुहुन्छ भने फाउण्डेशनको नाममा अनावश्यक गतिविधि गर्ने काम तपाईहरूलाई शोभनीय हुँदैन,’ भट्टराईको भनाई थियो ।