जनता टाइम्स

८ भाद्र २०८२, आईतवार १३:०६

निर्माणाधीन सेलेघाट–रामेछाप–सालु–साँघुटार सडक आयोजनाको लापरबाहीले बस्ती नै जोखिममा


रामेछाप, भदौ ८। निर्माणाधीन सेलेघाट–रामेछाप–सालु–साँघुटार सडक आयोजनाको लापरबाहीका कारण रामेछाप नगरपालिका–३ साँघुटारको तल्लो बेँसी बस्ती पहिरोको उच्च जोखिममा परेको छ ।

आयोजनाले कमेरो माटो रहेको सो क्षेत्रमा सडक खन्ने क्रममा निस्किएको माटो स्थानीय बस्तीमाथिबाट खसालेर पानी नकटाई छाडिदिँदा पुरै गाउँ नै पहिरोले छोप्ने अवस्थामा पुगेको स्थानीय पूर्णबहादुर महतले जानकारी दिनुभयो । सडकमा लगाइएको ग्याभिनवाल भत्किँदा माथिबाट आएको पहिरोले बस्तीको जमिन धाँजा फाटेको छ भने एउटा घर भत्किसकेको उहाँले बताउनुभयो ।

सडक आयोजनाको कामले खानेपानी, कुलो र बस्तीमा ठूलो क्षति पुर्‍याएको छ । डेढ सय रोपनीभन्दा बढी खेत सडकको माटोले पुरिएको महतको भनाइ छ । यस विषयमा सडक आयाेजना र सराेकारवाला  निकायमा भन्दा पनि सुनुवाई नभएकाे उहाँले गुनासाे गर्नुभयाे ।

जत जाेखिम भए पनि अन्त जाने ठाउँ नहुँदा पहिराे मुनि बस्नु परेकाेख  सो बस्तीकी ज्ञानकुमारी खड्काले बताउनुभयाे । ‘घरमाथि चिरा परेर फुटेको छ, अन्त जाने ठाउँ छैन, सधैं डरै डर छ, राति सुत्दा उज्यालो हुन्छ कि हुँदैन भन्ने त्रासमा बस्नुपरेको छ’, खड्काले गुनासो गर्नुभयो ।

सडक आयोजनाले कुलो नै पुर्दिँदा खेत सुक्खा परेको स्थानीय रमिला महतले बताउनुभयो । ‘घरहरू जोखिममा छन्, खेतमा कुलो छैन, सडकले कुलो सबै पुरिदिएको छ, भएको खेत सुक्खा लागेको छ’, उहाँले भन्नुभयो ।

यस विषयमा सडक आयोजना, नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि कुनै निकायले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ ।

सडक आयोजनाका प्रमुख इश्वर कार्कीले सो क्षेत्रमा कमेरो माटो भएको र पानी नकटाउँदा समस्या उत्पन्न भएको स्वीकार गर्नुभयो । उहाँले बस्तीमा पानी नपर्ने गरी पानी कटाउन निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताउनुभयो ।

भारतीय एक्जिम बैङ्कको सहयोगमा निर्माण भइरहेको सो सडकको ठेक्का भारतीय कम्पनी टेलिकम्युनिकेसन इण्डिया लिमिटेड (टीसीआईएल)लाई दिइएको हो । सन् २०२० नोभेम्बर ११ मा सुरु भएको आयोजनालाई २०२३ मे १० भित्र सम्पन्न गर्ने सम्झौता भए पनि समयमा काम नसक्दा कम्पनीलाई थप १७ महिना समय दिइएको छ ।

निर्धारित समयमा काम नसक्दा सडक र आसपासको क्षेत्र अस्तव्यस्त बनेको छ । वर्षाको समयमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा एम्बुलेन्ससमेत रोकिने समस्या रहेकाे स्थानीयकाे गुनासाे छ ।

निर्माण कम्पनीका प्रतिनिधि डिसी शर्माले तत्काल देखिएका समस्या समाधान गर्दै निर्धारित समयमै काम पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । तर, बस्ती जोखिममा रहेकाले स्थानीयवासीले तत्काल राहत र दीर्घकालीन समाधानको माग गरेका छन् ।