काठमाडौं, भदाै १० । ७८ लाख घुस ‘डिल’ अडियो प्रकरणमा राजीनामा दिएका तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने आधार पाएको छ।
सार्वजनिक भएको अडियो र त्यसको प्राविधिक परीक्षणपछि अडियो गुप्ताकै भएको पुष्टि भएपछि अख्तियारले उहाँलाई प्रत्यक्ष संलग्न देखाउने पर्याप्त प्रमाण जुटाएको स्रोतले जानकारी दिएको छ। आयोगले यसै आधारमा गुप्तालाई बयानका लागि बोलाएको र छानबिनलाई तीव्र पारेको छ।
छानबिनमा संलग्न उच्च अधिकारीका अनुसार ‘अडियोमा भएका संवाद, रकमको ‘डिल’ गर्ने तरिका र अन्य परिस्थितिजन्य प्रमाणले गुप्तालाई आरोपमुक्त गर्ने ठाउँ छैन।’
यसअघि अडियो सार्वजनिक भएपछि गुप्तामाथि तीव्र आलोचना भएको थियो। विवाद चर्किएपछि उहाँले मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो। तर, अख्तियारले प्रारम्भिक अनुसन्धानमै अडियोको सत्यता प्रमाणित गरेसँगै उहाँलाई कानुनी कारबाहीतर्फ लैजाने तयारी गरेको हो।
अख्तियारले गुप्तामाथि अख्तियार दुरुपयोग (भ्रष्टाचार) निवारण ऐन, २०४८ अनुसार मुद्दा दायर गर्ने प्रक्रिया अघि बढाइरहेको बताइएको छ। यदि दोषी प्रमाणित भए गुप्तालाई जेल सजायसहित जरिवाना हुने प्रावधान कानुनमा छ।
यो प्रकरण नेपाली राजनीति र प्रशासनमा पुनः ठूलो बहसको विषय बनेको छ। उच्च पदमा रहेर घुस ‘डिल’मा संलग्न भएको प्रमाणित हुनु अख्तियारको लागि पनि ठूलो ‘टेस्ट केस’ मानिएको छ।













प्रतिक्रिया दिनुहोस्