जनता टाइम्स

११ भाद्र २०८२, बुधबार १०:०१

आत्मदाह प्रयास गरेका अभियुक्त पासवान काठमाडौं रेफर


रौतहट, ११ भदौ । हत्या गरेर सुटकेसभित्र भेटिएकी माधव नारायण ६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको मृत्यु प्रकरणका मुख्य अभियुक्तले आत्मदाहका कारण गम्भीर अवस्थामा रहेकोले उनलाई थप उपचारका लागि बर्न अस्पताल पठाइएको छ।

सोही ठाउँका अभियुक्त लक्ष्मण पासवानले गाउँदेखि करिब ५ सय मिटर पश्चिम धान खेतमा आत्मदाहको प्रयास गरेको एसपी नेत्रमणि गिरिले बताउनुभयाे। उहाँका अनुसार घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु कार्कीको नेतृत्वमा खटिएको प्रहरी टोलीले घाइते पासवानलाई उद्धार गरी गरुडास्थित बेटर नेपाल अस्पतालमा पुर्‍याएको थियाे।

रुबीको हत्या गरेर फरार भएको आज पाँचौं दिन आफ्नै पुर्ख्यौली गाउँमा पुगेर उहाँले गाउँदेखि पश्चिम धान खेतमा जिउमा पेट्रोल खन्याएर आत्मदाह गरेका छन्।
आत्मदाहका कारण उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको गरुडा बेटर नेपालका सञ्चालक सुनिल प्रसाद साहले बताउनुभयाे।

बेटर नेपाल अस्पतालमा प्रहरीले उद्धार गरी ल्याएका पासवानको टाउको, पेट र पछाडिको भाग पूर्ण रूपमा जलेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रेफर गरिएको छ।

प्रहरीका अनुसार रुबी र लक्ष्मण पूर्व प्रेमीप्रेमिका भएको पाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हत्याका अभियुक्त पासवानले आफूले प्रेमिका रुबीको हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको भनाइ छ।