जनता टाइम्स

११ भाद्र २०८२, बुधबार १९:०९

कोशी प्रदेशमा यस्ताे छ संविधान दिवस मनाउने तयारी 


विराटनगर, भदाै ११ । कोशी प्रदेश सरकारले आगामी असोज ३ गते पर्ने संविधान दिवसलाई भव्य रुपमा मनाउन तयारी थालेको छ।

मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले यस वर्षको संविधान दिवस तीन दिनसम्म विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो।

बैठकमा प्रदेश सरकारका सबै मन्त्री, सचिवहरू तथा सामाजिक क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकले ५ सय १ सदस्यीय मूल समारोह समिति गठन गर्ने निर्णय गरेको छ।

संविधान दिवस अवसरमा वक्तृत्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभातफेरी, झाँकी प्रदर्शन, जिल्लास्तरीय विविध सांस्कृतिक कार्यक्रम तथा प्रदेश सरकारका सेवाहरू प्रदर्शित हुने कार्यक्रम आयोजना गरिने बैठकले तय गरेको छ।

बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संविधान दिवसलाई राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य र विविधतामा आधारित हाम्रो मौलिकताको उत्सवका रूपमा मनाउन सबै संघ–संस्था र नागरिकलाई आह्वान गर्नुभयो। उहाँले प्रदेशका जातजातिका विशेषता झल्किने झाँकी प्रदर्शन तथा मौलिक संस्कृति देखिने कार्यक्रमहरू आयोजना गर्न निर्देशन दिनुभएको छ।

संविधान दिवस मनाउने सम्पूर्ण तयारी आन्तरिक मामिला तथा कानून मन्त्रालयको समन्वयमा अघि बढाइएको छ।