जनता टाइम्स

११ भाद्र २०८२, बुधबार २२:०१

विधान अधिवेशन तयारी तीव्र पार्दै एमाले, पूर्वनिर्धारित योजना अनुसार काम अघि बढेको महासचिव शङ्कर पोखरेलको भनाई


काठमाडौँ, साउन ११ । नेकपा एमालेले आगामी भदौ २० गतेदेखि सुरु हुने दोस्रो विधान अधिवेशनको तयारीलाई तीव्रता दिएको छ। यस सम्बन्धमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज विस्तारित बैठक बसेको र बैठकमा अधिवेशन तयारीका विभिन्न पक्षबारे समीक्षा गर्दै आगामी कदमलाई अझ गति दिन निर्णय भएको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभएको छ।

महासचिव पोखरेलका अनुसार अधिवेशन व्यवस्थापनका लागि पूर्वनिर्धारित योजना अनुसार काम अघि बढिरहेको छ। उहाँले भदौ १५ गतेदेखि तयारीलाई अझ गतिशील बनाउने निर्णय भएको बताउनुभयो ।

पोखरेलले अधिवेशन तयारीका लागि प्रतिनिधि व्यवस्थापनदेखि मञ्च तथा हलको तयारी, स्वयंसेवक परिचालन, आवास तथा खाद्य व्यवस्थापन, प्रचार गतिविधि, यातायात संयोजन, स्वास्थ्य र सांस्कृतिक टोलीको भूमिका, स्वागत गेट र साजसज्जा, दस्ताबेज प्रकाशन तथा कार्यालयसहितका लजिस्टिक तयारीसम्मलाई पार्टीले प्राथमिकतामा राखेको जानकारी दिनुभएको छ।

उहाँका अनुसार अधिवेशनको सम्पूर्ण व्यवस्थापनलाई व्यवस्थित ढङ्गले अघि बढाउने उद्देश्यले विस्तृत तयारी भइरहेको छ। यसले एमालेलाई विधान अधिवेशनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न मद्दत पुर्‍याउने विश्वास महासचिव पोखरेलले व्यक्त गर्नुभएको छ।