जनता टाइम्स

१३ भाद्र २०८२, शुक्रबार २२:१०

प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणका क्रममा लिपुलेकको मुद्दा उठाउने


काठमाडौं, भदाै १३। प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्तामा लिपुलेकको मुद्दा उठाउने बताउनुभएकाे छ।

आज प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले ‘लिपुलेकको विषय उच्चस्तरीय भेटवार्तामा उठ्ला कि नउठ्ला’ भन्ने प्रश्न सोध्दा प्रधानमन्त्री ओलीले ‘अवश्य उठ्छ’ भन्ने प्रतिक्रिया दिनुभयाे।

भारत र चीनले लिपुलेक क्षेत्रमा व्यापारिक मार्ग खोल्ने निर्णय गरेपछि नेपालले लगातार आपत्ति जनाउँदै आएको छ। नेपाली भूमि मानिएको सो क्षेत्रबारे दुवै छिमेकी मुलुकबीच भएको सहमति नेपालविरुद्ध भएको भन्दै यसबारे प्रधानमन्त्री ओलीले चीनसँग स्पष्ट कुरा गर्ने बताउनुभयाे ।

प्रधानमन्त्री ओली मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ देखि १८ गतेसम्म (तदनुसार अगस्ट ३० देखि सेप्टेम्बर ३० सम्म) चीन भ्रमणमा जाँदै हुनुहुन्छ। उहाँले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डल चीनको थियानजिन सहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा पनि सहभागीता जनाउनुहुने भएकाे छ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चिनफिङसँग दुईपक्षीय भेटवार्ता हुने कार्यक्रम तय भएको छ। त्यस्तै, उहाँले चीनका उपराष्ट्रपति हान चङ्गसँग पनि भेट गर्नुहुने छ । प्रधानमन्त्रीको टोली आगामी भदौ १८ गते स्वदेश फर्किने कार्यक्रम छ।