काठमाडौं, भदौ १३ । नेपाल निर्माण व्यवसायी महासंघले विशेष साधारण सभा सम्पन्न गरेको छ । विधान संशोधनको विषयलाई लिएर अदालतमा मुद्दा दायर भएपछि महासंघको साधारणसभा हुन सकिरहेको छैन ।
गत फागुनमा हुनुपर्ने २६ औं साधारण सभा हुन नसक्दा महासंघले विशेष साधारण सभा गरेको हो । विधान अनुसार साधारणसभा हुन नसकेको ६ महिनाभित्र विशेष साधारण सभा गर्नुपर्ने हुन्छ । विधानअनुसार महासंघले भदौ २७ अघि विशेष साधारण सभा सम्पन्न गरेको हो । विशेष साधारणसभाले आउँदो माघमा साधारण सभा गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावमा सहमति जुटेको महासंघले जनाएको छ । महासंघका अध्यक्ष रवि सिंहले २६ औं साधारण सभा तथा १३ औं अधिवेशन २०८२ को माघ १५, १६ र १७ गते गर्ने प्रस्ताव गर्नुभएको छ । विशेष साधारणसभामा बोल्दै संविधान सभा सदस्यसमेत रहनुभएका पूर्वअध्यक्ष जिपछिरिङ लामाले मुलुकको निर्माण उद्योग समस्याग्रस्त रहेको बताउनु भयो । महासंघको विशेष साधारण सभाको उद्घाटन गर्दै लामाले अहिलेको विषम परिस्थितिमा साना-ठूला सबै निर्माण व्यवसायी समस्यामा रहेको बताउनु भयो ।
महासंघका मानार्थ सदस्य एवं पूर्वअध्यक्ष समेत रहनुभएका लामाले निर्माण व्यवसायीहरू एकताबद्ध भएर आफ्नो हक अधिकारका लागि लड्ने बेला आएको धारणा राख्नुभयो । महासंघका अध्यक्ष सिंहले आफ्नो नेतृत्वको कार्य समितिले निर्माण उद्योगको समस्या समाधान गर्न इमान्दार प्रयास गरिरहेको जानकारी दिनुभयो । साना ठूला सबै किसिमका निर्माण व्यवसायीहरूको समस्या सम्बोधन गर्ने गरी महासंघको वर्तमान नेतृत्वले काम गरिरहेको अध्यक्ष सिंहले बताउनु भयो ।
महासंघका सल्लाहकार एवं पूर्वअध्यक्ष सुकुन्तलाल हिराचनले अव्यावहारिक ऐन, नियम तथा मूल्यवृद्धि, म्याद थपमा देखिएको जटिलता लगायतका समस्याबाट निर्माण उद्योग आक्रान्त रहेको टिप्पणी गर्नुभयो । विशेष साधारण सभामा प्रतिवेदन पेश गर्दै महासचिव रोशन दाहालले महासंघका अहिलेसम्मका उपलब्धि तथा भावी कार्यक्रमहरू सार्वजनिक गर्नुभयो ।
कोषाध्यक्षको तर्फबाट हिरणकुमार श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको थियो । विशेष साधारण सभाले महासचिव दाहाल तथा कोषाध्यक्ष श्रेष्ठको प्रतिवेदन पास गरेको छ । विशेष साधारण सभाकै अवसरमा महासंघको मुखपत्र ‘निर्माण समाचार’ को विमोचन गरिएको थियो । विशेष साधारण सभामा ७३ जिल्लाका करिब एक हजार प्रतिनिधिहरूको सहभागिता रहेको थियो । देशभरका निर्माण व्यवसायीहरूको छाता संगठन महासंघमा २४ हजार भन्दा बढी व्यवसायी आबद्ध छन ।













प्रतिक्रिया दिनुहोस्