काठमाडौं, भदौ १४ । प्रेस चौतारी नेपालले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका सम्बन्धमा अन्तर्संवाद आयोजना गरेको छ ।
शनिबार भएको अन्तर्संवाद कार्यक्रम संगठनका अध्यक्ष गणेश पाण्डेकाे अध्यक्षता तथा नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमका एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, संगठनका इन्चार्ज राजेन्द्र गौतम, केन्द्रीय सदस्य रामेश्वर फुयाँल, संगठनका निवर्तमान अध्यक्ष गणेश बस्नेत, पूर्व उपाध्यक्ष विश्वमणि सुवेदी, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सन्दीप राई, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्ले, फोनिजका अध्यक्ष लक्की चौधरीलगायत विभिन्न संगठनका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको संगठनका सचिव हीरामान लामाले जानकारी दिनुभयाे ।
कार्यक्रममा वक्ताहरूले एमालेको विधान महाधिवेशन, नेतृत्वको निरन्तरता र सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ (जबज) को सृजनात्मक विकासबारे धारणा राखेका थिए। उपमहासचिव ज्ञवालीले राष्ट्रपतिको पदमा पुग्ने व्यक्तिको पार्टीसँगको सम्बन्ध र भूमिकाबारे स्पष्ट सीमा कायम हुनुपर्नेमा जोड दिनुभयाे । उहाँले राष्ट्रपतिको भूमिका निष्पक्ष अभिभावकको हुने भएकाले यो पद दलगत स्वार्थभन्दा माथि रहनुपर्ने बताउनुभयो ।
ज्ञवालीले वर्तमान चुनौतीलाई सामना गर्न अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व अपरिहार्य रहेको पनि प्रष्ट पार्नुभयो। उहाँका अनुसार ओलीको स्थायित्व र निर्णय क्षमताले पार्टीलाई सङ्कट व्यवस्थापनमा मार्गदर्शन गर्नेछ र भविष्य निर्माणमा पनि उपयोगी हुनेछ।
त्यस्तै, जबजलाई नेपालको विशिष्ट परिस्थिति अनुसार प्रयोग र विकास गर्नुपर्नेमा वक्ताहरू एकमत देखिनुभयो। मार्क्सवाद–लेनिनवादलाई आधार बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समाज र समाजवादी प्रणालीतर्फ अघि बढ्न जबजको निरन्तर अद्यावधिक आवश्यक रहेको उहाँहरूको धारणा छ ।
प्रेस चौतारी नेपालले कार्यक्रमका सहभागी सबैप्रति आभार प्रकट गर्दै साझा प्रयास र संवादले नयाँ दिशा दिने विश्वास व्यक्त गरेको छ।













प्रतिक्रिया दिनुहोस्