काठमाडौं, भदौ १४ । नेकपा एमाले नेतृ उषाकला राईले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चीन भ्रमणका क्रममा राख्नुभएको लिपुलेकसम्बन्धी स्पष्ट अडानलाई ऐतिहासिक ठहर गर्दै सार्वजनिक रूपमा समर्थन व्यक्त गर्नुभएको छ।
राईले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै प्रधानमन्त्री ओलीको विचारलाई ‘मर्मस्पर्शी’ भन्दै सलाम गरेको उल्लेख गर्नुभएको छ। उहाँले लेख्नुभएको छ, ‘सत्यसँग नझुक्ने, शक्तिसँग नलड्ने – वा क्या महान् विचार, यो विचारलाई हृदयबाट नै मर्मस्पर्शी भएर हात उठाएर शिर झुकाएर स्यालुट गर्दछु, राष्ट्रवाद जिन्दाबाद!’
प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको विषयलाई पहिलो प्राथमिकतामा राखेर उठाउनुभएको प्रसङ्गमा नेतृ राईले भन्नुभएको छ, ‘आजसम्म हुँदै आएको शक्ति राष्ट्रहरूको अगाडि लम्पसार हुनेहरूलाई प्रधानमन्त्रीको यो कुरा अपचिलो बनेको छ, अपत्यारिलो भएको छ, कम्तीमा आफ्नो राष्ट्रको हितमा जोसुकैले कुरा राखोस् साथ र समर्थन गर्नुपर्दछ।’
राईले लोकतन्त्रभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भए पनि वैदेशिक नीति भने एउटै हुनु पर्ने स्पष्ट धारणा राख्नुभएको छ। उहाँले प्रधानमन्त्रीको कदमलाई राष्ट्रिय हित, स्वाधीनता र सार्वभौमिकताको प्रश्नसँग जोड्दै, ‘लिपुलेकको विषय हाम्रो राष्ट्रिय सरोकार, स्वाधीनता र अन्तर्राष्ट्रिय समानताको विषय हो, भारत र चीनले नेपालको भूमिको बारेमा निर्णय गर्नु आपत्तिजनक छ भन्ने कुरा प्रधानमन्त्रीले प्रष्टसँग उठाउनुभएको छ, यो नै सबैभन्दा ठुलो प्रमाण हो’, भन्नु भएकाे छ ।
प्रधानमन्त्रीको यो साहसिक अडानलाई राईले राष्ट्रिय स्वाभिमान सगरमाथा सरह उच्च बनाएको भन्दै गर्व प्रकट गर्नुभएको छ। उहाँले भन्नुभएको छ, ‘प्रधानमन्त्रीज्यू तपाईँको यो आँट, साहस र कामप्रति हामी धेरै गौरवान्वित बनेका छौँ, यसरी नै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य शक्ति राष्ट्रका नेतासँग भेटमा पनि हाम्रो सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र पारस्परिक हितको विषयमा कुरा उठाउन सफल हुनुहुनेछ भन्ने विश्वास लिएको छु।’
राईले प्रधानमन्त्रीको भ्रमण सफलताको शुभकामना दिँदै सबै समस्याहरू वार्ताबाट नै समाधान हुने अपेक्षा व्यक्त गर्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्