काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरापर्व नारी शक्ति, समर्पण, भक्ति र संस्कृतिप्रतिको आस्थाको प्रतीक भएको बताउनु भएको छ।
गौरापर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले विशेषगरी कर्णाली र सुदूरपश्चिम प्रदेशमा ठूलो उत्साहका साथ मनाइने यस पर्वले जनजीवनमा गहिरो सांस्कृतिक छाप छाड्नुका साथै एक विशिष्ट पहिचान निर्माण गरेको उल्लेख गर्नु भएको छ।
देवी गौरी (गौरा) र भगवान् शिव (महेश्वर) को पूजा गरी मनाइने यस पर्वले सामाजिक एकता, मेलमिलाप, आपसी सद्भाव र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने सभापति देउवाको भनाइ छ। देउवाले गौरापर्वलाई केवल धार्मिक अनुष्ठान मात्र नभई सामाजिक सद्भाव र सामूहिक सहभागिताको पर्वका रूपमा चित्रण गर्दै यसले भावी पुस्तालाई संस्कृतिप्रतिको आस्था र परम्पराको महत्व बुझ्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नु भएको छ।













प्रतिक्रिया दिनुहोस्