काठमाडौं, भदौ १५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि डा. लेखजंग थापालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

पार्टी सचिवालयको बैठकले ९ जना आकांक्षीमध्ये थापालाई उम्मेदवार टुंगो लगाएको हो । आकांक्षीहरूमध्ये सुलभ खरेल, ज्ञानु पौडेल, जितबहादुर गुप्ता, मधुप्रसाद अर्याल, पार्थिवेन्द्र उपाध्याय, कुसुम महर्जन, पुनमकुमारी अग्रवाल र रचना क्षेत्री पनि प्रतिस्पर्धामा रहेका थिए ।
उम्मेदवार छनोट प्रक्रिया पारदर्शी बनाउन रास्वपाले १२ भदौ बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन भोटिङमार्फत ‘प्राइमरी इलेक्सन’ गरेको थियो । उक्त मतदानमा सबैभन्दा बढी मत प्राप्त गर्ने व्यक्तिलाई उम्मेदवार बनाइने घोषणाअनुसार डा. थापा विजयी हुनुभएकाे हाे ।
डा. थापा वरिष्ठ न्युरोलोजिस्ट हुनुहुन्छ। उहाँले एमबीबीएस, इन्टरनल मेडिसिनमा एमडी तथा न्युरोलोजीमा एमडी गर्नुभएकाे छ । हाल नेसनल न्युरो सेन्टर, महाराजगञ्ज काठमाडौंमा न्युरोलोजी विभाग प्रमुखका रूपमा कार्यरत उहाँ नेपाल स्ट्रोक एसोसिएसनका संस्थापक अध्यक्ष समेत हुनुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्