काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा राजनीतिक दलमा आबद्ध हुनु खराब हो भन्ने गलत धारणा जबरजस्ती फैलाइएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा आयोजित शिव पाञ्चायन मन्दिर भजन मण्डलको उद्घाटन समारोहमा बोल्दै उहाँले राजनीतिक दलमा आबद्ध भएको व्यक्तिले सार्वजनिक जिम्मेवारी पाएको ठाउँमा उत्कृष्ट काम गरेर मात्र त्यो भ्रम तोड्न सकिने बताउनुभयो । ‘राजनीतिक दलमा आबद्ध हुनु खराब हो भन्ने भाष्यलाई अरूलाई गाली गरेर होइन, कामको उत्कृष्टतामार्फत मात्र गलत प्रमाणित गर्न सकिन्छ, जहाँ–जहाँ राजनीतिक दलमा आबद्ध व्यक्तिले जिम्मेवारी पाएका छन्, त्यहाँको काम देखाएर नै यो धारणा तोडिनुपर्छ’, उहाँले भन्नुभयो ।
थापाले काठमाडौंको वातावरण सुधारतर्फ पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले रुद्रमति खोलालाई दुई वर्षभित्र पूर्ण रूपमा ढलमुक्त बनाई काठमाडौंको पहिलो सफा नदीको रूपमा स्थापित गर्ने योजना अघि सार्नुभयो ।
उहाँले प्रारम्भिक चरणमा मुहानमा आवश्यक काम गर्ने र त्यसपछि समुदाय स्तरमा साना सरसफाइ केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो। त्यस्तो कार्यका लागि जग्गा व्यवस्थापन लगायतका तयारी भइरहेको पनि उनले जानकारी दिए ।













प्रतिक्रिया दिनुहोस्