जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार ०९:२१

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन


काठमाडौं, १८ भदौ । विविध भाषा र भाकामा हजारौं गीतमा स्वर भरेर नेपाली गीत–संगीतलाई समृद्ध बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएकी वरिष्ठ गायिका इन्दिरा गोले गुरुङको ५८ वर्षको उमेरमा निधन भएको छ।

बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा उहाँको निधन भएको जानकारी तामाङ दाजाङका अध्यक्ष, गायक तथा गीतकार फूलकुमार तामाङले दिनुभयो। दुई वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गरिरहनुभएकी गुरुङको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गरिएको थियो। पछिल्ला दुई सातादेखि उहाँ हात्तीवनमै कान्छी छोरीसहित बस्दै उपचार र आराम गरिरहनुभएको थियो।

सन् १९६६ अक्टोबर १९ मा ललितपुरको भर्देउमा जन्मनुभएकी गुरुङले तामाङ सेलो, लोकदोहोरी, आधुनिक लगायत करिब ५ हजारभन्दा बढी गीतमा स्वर दिनुभयो। उहाँको स्वरमा सजिएका ‘चाँगुनारायण थान’, ‘जाइफूलको बासना’, ‘घर त छाउनीमा’, ‘सफा ट्याम्पुरी’, ‘होइ ताङ्बा’, ‘गाङ ग्याब्से ला’ लगायतका गीतहरू आज पनि सदाबहार मानिन्छन्।

रेडियो नेपालमा स्वर परीक्षा उत्तीर्ण गरेपछि उहाँले नेपाली लोकदोहोरी गीतमार्फत पनि ठूलो लोकप्रियता कमाउनुभयो। तामाङ कलाकार समाजकी पूर्वअध्यक्ष समेत रहेकी उहाँले तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जीवन समर्पण गर्नुभयो। अध्यक्ष फूलकुमार तामाङका अनुसार, ‘उहाँ आउनुभएपछि तामाङ गीतसंगीतमा गायिकाको अभाव रहेन। उहाँको आगमनले तामाङ सेलोलाई नयाँ उचाइ दिनुभयो।’

उहाँको जीवन यात्रामा व्यक्तिगत पीडा पनि कम थिएन। श्रीमानको असामयिक निधनपछि दुई छोरीको जिम्मेवारी सम्हाल्दै पनि उहाँ निरन्तर गीत–संगीतमा सक्रिय रहनुभयो। पछिल्ला दिनमा उपचार खर्चको लागि तामाङ कलाकार संघलगायतका संघ–संस्थाले आर्थिक सहयोग अभियान समेत चलाएका थिए।

गुरुङको पार्थिव शरीरलाई बौद्ध संस्कारअनुसार अन्त्येष्टि गर्ने तयारी गरिएको छ। नेपाली लोक, आधुनिक र तामाङ गीतसंगीतलाई विश्वभर परिचित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउनुभएकी इन्दिरा गोले गुरुङको निधनले सांगीतिक क्षेत्रमा ठूलो रिक्तता सिर्जना गरेको छ। उहाँको योगदान सदा स्मरणीय रहनेछ।