जनता टाइम्स

१८ भाद्र २०८२, बुधबार २०:२९

जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवा बारे जानकारी दिन अन्तरक्रिया


रामेछाप, भदाै १८। जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा, शान्ति सुरक्षा र सामाजिक व्यवस्थाबारे जानकारी दिन बुधबार मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयाेजना गरिएकाे छ ।

कार्यक्रममा प्रशासनिक सेवा र त्यसको प्रवाहमा देखिएका समस्या र समाधानका उपाय, सामाजिक अपराध नियन्त्रण, लागू औषध दुरुपयोग रोकथाम तथा विपद् व्यवस्थापनसम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो।

जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले प्रशासनिक सेवासम्बन्धी जानकारी दिनुभएकाे थियाे भने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टले लागू औषध नियन्त्रणमा देखिएका चुनौतीका बारे प्रस्तुत गर्नुभएकाे थियाे। त्यस्तै, सशस्त्र प्रहरी बल आश्रित गुल्म रामेछापका इन्स्पेक्टर विकास उप्रेतीले विपद् व्यवस्थापनसम्बन्धी जानकारी दिनुभएकाे थियाे ।

मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले नागरिकता सिफारिसमा देखिएका समस्या समाधानका लागि वडा अध्यक्ष र वडा सचिव जिम्मेवार हुने र नगरपालिकाले आवश्यक समन्वय गर्ने जानकारी दिनुभयाे । नागरिक सेवा प्रवाहमा सबैले समन्वय गर्नु पर्ने उहाँकाे धारणा छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले शान्ति सुरक्षा सुदृढ गर्न नियमित छलफल आवश्यक रहेको उल्लेख गर्दै प्रत्येक तीन–तीन महिनामा दुई–दुई पालिकामा यस्ता कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयाे। उहाँले नागरिकलाई सहज सेवा प्रवाह सुनिश्चित गर्न सरोकारवालाबीच बुझाइको एकरुपता कायम गर्नु आवश्यक रहेको औँल्याउनुभयाे।

नेपाली कांग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्की र नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले यस्ता कार्यक्रम वडास्तरमा लैजानुपर्नेमा जोड दिनुभयाे। उहाँहरूले पूर्वाधारसँगै मानव विकासमा ध्यान दिनुपर्ने र नागरिकका साना–साना समस्यामा सरोकारवालाले सक्रिय रहनुपर्ने सुझाव दिनुभयाे ।

कार्यक्रममा वडाका वडाध्यक्ष, वडा सचिव, राजनीतिक दलका प्रतिनिधि, पत्रकार लगायतको सहभागिता रहेको थियो।