जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार ०१:११

३१ औँ प्रहरी महानिरीक्षक दीपक थापा अवकाश, चन्द्रकुबेर खापुङ ३२ औँ महानिरीक्षकमा बहाली


काठमाडौं, भदाै १९। नेपाल प्रहरीका ३१औँ प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापा सेवाबाट अवकाश हुनुभएको छ। बुधबार बिहान प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबिच थापाले ३२औँ प्रहरी महानिरीक्षकका रूपमा नियुक्त चन्द्रकुबेर खापुङलाई कार्यभार बुझाउनुभयो।

सोही समारोहमा प्रहरी सेवाको ३० वर्षे कार्यकाल पूरा गरेका अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरीको समेत बिदाइ गरिएको छ। नियमावलीअनुसार उहाँहरू गएराति १२ बजेदेखि अवकाश हुनुभएकाे हाे ।

नेपाल सरकारले गत सोमबारको निर्णयमार्फत एआईजी खापुङलाई ३२ औँ आइजिपी नियुक्त गरेको हो। उहाँको कार्यकाल भदौ १९ गतेदेखि औपचारिक रूपमा लागू भएकाे छ । बिहीबार बिहान गृह सचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न लगाएर कार्यभार ग्रहण गर्ने प्रक्रिया सम्पन्न हुने छ । बहालीपछि आइजिपी खापुङले प्रहरी प्रधान कार्यालयमा अमर प्रहरी स्तम्भमा माल्यार्पण गर्दै पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

विद्यमान प्रहरी नियमावलीअनुसार आइजिपी खापुङको सेवा अवधि कात्तिक २७ गतेसम्म कायम रहनेछ। त्यसबेला उहाँले समेत ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश लिनु पर्नेछ।