जनता टाइम्स

१९ भाद्र २०८२, बिहीबार २१:२८

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गर्नुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले  सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्नु पर्ने बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयलाई ‘उल्टो बाटो’ को संज्ञा दिनुभयो। उहाँले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमा प्रत्यक्ष असर पर्ने यस्तो कदम तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गर्नुभयो । थापाले सर्वोच्च अदालतकै आदेशलाई गलत व्याख्या गरेर सरकारले असंवैधानिक बाटो लिन खोजेको आरोप लगाउनुभयो। ‘सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन–प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन, जिम्मेवार बनाउन र दुरुपयोगलाई निरुत्साहित गर्न कानुनी व्यवस्था गर्न भनेको हो, यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन, बरु आवश्यक कानुन छिटो बनाउने हो,’ उहाँले भन्नुभयो।

थापाले सामाजिक सञ्जाल आजको दिनमा नागरिकलाई आफ्ना विचार प्रकट गर्न, सार्वजनिक बहसमा सहभागी हुन र सरकारलाई जबाफदेही बनाउन महत्त्वपूर्ण प्लेटफर्म नबको बताउनुभयो । ‘सामाजिक सम्बन्ध, उद्यमशीलता, डिजिटल अर्थतन्त्र जस्ता विविध विषय र आम मानिसको दैनिकीसँग सञ्जाल जोडिएको छ, यसमा प्रतिबन्ध लगाउनु भनेको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको अधिकारलाई सङ्कुचित पार्नु हो,’ उहाँले भन्नुभयो ।

सामाजिक सञ्जालमा केही जोखिम र दुरुपयोगका समस्या भए पनि त्यसलाई समाधान गर्ने बाटो बन्देज नभई नियमन र सुरक्षित प्रयोग सुनिश्चित गर्ने कानुन निर्माणमा केन्द्रित हुनुपर्ने उहाँको धारणा छ । ‘सामाजिक सञ्जाल बन्द गर्ने विषय साइबर जोखिमसँग समेत जोडिएको छ, यसमा सन्तुलित र विवेकपूर्ण भएर सोच्नुपर्छ,’ उहाँले भन्नुभयो ।