जनता टाइम्स

२० भदौ २०८२, शुक्रबार १२:२१

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अलोकतान्त्रिक : शेखर कोइराला


काठमाडौं, भदौ २० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई अलोकतान्त्रिक निर्णय भएको बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सरकारले जनचाहनाअनुसार काम गर्न असफल भएपछि आलोचना सहन नसकी अदालतको आदेशलाई बहाना बनाएर सामाजिक सञ्जाल बन्द गरेको उहाँको आरोप छ । ‘जनचाहना र आफ्नै प्रतिबद्धताअनुरूप काम गर्न नसकेपछि आलोचना खेप्न बाध्य भएको सरकारले अदालतको आदेशको बहानामा सामाजिक सञ्जाल बन्द गर्नु घोर आपत्तिजनक छ । यस निर्णयका कारण कति नेपालीको रोजिरोटी समेत खोसिन्छ, यो सरकारले अन्दाज लगाउन सक्छ ? यस्तो कदम तुरुन्त सच्याउन र सामाजिक सञ्जाललाई मर्यादित गर्ने गरी नियमन गर्न म आग्रह गर्न चाहन्छु ।’

उहाँले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी गुमाउने स्थिति सिर्जना हुने भन्दै सरकारलाई तुरुन्त कदम सच्याउन आग्रह गर्नुभएको छ ।