जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार १३:५२

हामी मिसन ०८४ मा छौँ, अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्छ: केपी ओली


काठमाडौँ, २० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मिसन ०८४ मा रहेको बताउनुभयो  । उनले अबको निर्वाचनमा कम्तिमा एमालेले बहुमत ल्याउनुपर्ने पनि बताए। पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै पार्टीका सारा कमिटी परिचालन गरेर बहुमत ल्याउनुपर्ने बताउनुभयो ।

‘हामी यतिबेला मिसन ०८४ मा छौँ। अबको निर्वाचनमा हामीद्ये एकल बहुमत ल्याउनुपर्दछ कम्तिमा। यदि हामी जनताका बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सबै कमिटी र कार्यकर्ता परिचालन गरेर गयौँ भने बहुमत ल्याउन कसैले पनि रोक्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘यहाँहरूलाई थाहा छ- हामी सरकारमा छौँ। आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा छौँ धाँधली रोक्नेछौँ। निष्पक्ष स्वतन्त्र निर्वाचन हुनेछ। यसर्थ सबैलाई यस परिस्थितिलाई ध्यानमा राखेर हाम्रा गतिविधि अघि बढाउन जरुरी छ।’

उहाँले एमालेको विषयमा हल्ला फिँजाएपछि मध्यपहाडी लोकमार्ग यात्रा गरेर तथ्य जाँच गरेको पनिबताउनुभयो। ‘एउटा अभियान चाल्यौ। विरोधीहरूले हल्ला फिँजाएजस्तै हाम्रो अवस्था त्यस्तै भएको हो कि भनेर हामीले जाँच्न खोजेका थियौँ,’ उहाँले भन्नुभयो , ‘हामी जनताका बीचमा आशाका केन्द्र राष्ट्रियताका लागि, सुशासन र विकासका लागि हरेक पक्षमा हामी जनताको आशाका केन्द्र हौँ। समानता र न्यायका लागि हामी अग्रगामी हौँ।’

उहाँले देशको अर्थतन्त्र समाजवाद उन्मुख भए पनि विकासशील भइनसकेको सुनाउनुभयो। ‘हाम्रो अर्थतन्त्र समाजवाद उन्मुख छ। समाजवदामा पुग्या छैन, हामी विकासशील भएका छैनौँ,’ उहाँले भन्नुभयो, ‘०८३ मंसिरमा हामी बल्ल विकासशीलमा पुग्छौँ।’

उहाँले ०८४ सालको निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रुपमा उभ्याउने पनि बताउनुभयाे। ‘मिसन ०८४ लाई हामीले निर्णायक राष्ट्रिय शक्तिमा उभ्याउने छौँ, हाम्रा नीति नै राष्ट्रिय नीति हो’, उहाँले भन्नुभयो।