जनता टाइम्स

२० भाद्र २०८२, शुक्रबार १८:४५

अदालतले सामाजिक सञ्जाल व्यवस्थित गर भनेको हो, बन्द गर भनेको होइन : स्वर्णिम वाग्ले


रामेछाप, भदौ २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले अदालतले सामाजिक सञ्जाल बन्द गर्न नभइ व्यवस्थित गर्न भनेको बताउनुभएकाे छ ।

शुक्रवार मन्थलीमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले सरकारको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अधिनायकवादतर्फ उन्मुख भएको बताउनुभयो।  उहाँले अदालतको निर्देशनलाई सरकारले नबुझेको दाबी गर्नुभयाे । ‘कानुन बनाएर व्यवस्थित गर भनेको हो, बन्द गर भनेको होइन, सरकारले नबुझेको हो’, उहाँले भन्नुभयाे ।

आजको डिजिटल युगमा सूचना प्रवाहलाई जबरजस्ती रोक्ने प्रयास सूर्यलाई हत्केलाले छेक्ने प्रयास जस्तो असम्भव हुने उहाँले बताउनुभयो। सामाजिक सञ्जाललाई व्यवस्थित र नियमन गर्ने काम सुझबुझका साथ चरणबद्ध रूपमा गर्नुपर्नेमा, प्रतिबन्ध लगाउन खोज्नु अधिनायकवादको सङ्केत भएको उहाँले बताउनुभयो।

उहाँले करिब ८० लाख नेपाली विभिन्न देशमा बसोबास गरिरहेका र उनीहरूको लागि आफ्ना आफन्तसँग जोडिने प्रमुख माध्यम सामाजिक सञ्जाल नै भएको बताउनुभयाे। यस्तो परिस्थितिमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्दा व्यापक जनआक्रोश सिर्जना हुने र जनताको आवाज दबाउन नसकिने उहाँले बताउनुभयो।

उहाँले रास्वपाले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरिसकेको र काठमाडौँ फर्किएपछि यस विषयमा थप विस्तृत रूपमा सार्वजनिक रूपमा बोल्ने बताउनुभयो। उहाँले सरकारको निर्णयले अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र व्यवसायमा समेत प्रभाव परेको बताउनुभयो।