रामेछाप, भदाै २० । मानव बेचबिखन तथा ओसारपसार विश्वव्यापी समस्या भएको भन्दै सरोकारवालाहरूले यसलाई रोक्न सबै क्षेत्र र निकायको साझा प्रयास आवश्यक भएको बताएका छन्।
मन्थली नगरपालिकाले १९ औँ मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार आयोजना गरेकाे कार्यक्रममा सहभागीहरूले यसबारे गम्भीर चिन्ता व्यक्त गरेका हुन्।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख प्रेमबहादुर थापाले मानव बेचबिखन तथा ओसारपसारको समस्या समाधानका लागि सबै क्षेत्र र निकायको सहकार्य अनिवार्य रहेको बताउनुभयाे। उनले यसलाई रोक्न सामाजिक सचेतनाको आवश्यकता पनि त्यति नै रहेको स्पष्ट पार्नुभयो।

कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेतले बढ्दो आवश्यकता र आकाङ्क्षाले मानव बेचबिखन तथा ओसारपसारलाई गम्भीर चुनौती बनाएको बताइन्। प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले यसलाई कानुनी रूपमा अपराध मानिए पनि सामाजिक सचेतनाले यसलाई रोक्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य एवं इन्सेकका प्रतिनिधि नवराज पथिकले मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था र त्यसले पार्ने प्रभावको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो। त्यस्तै, जिल्ला प्रहरी कार्यालय रामेछापको प्रतिनिधिले यस सम्बन्धी अवस्था र सजाय व्यवस्था बारे कार्यपत्र प्रस्तुत गरेको थियो।













प्रतिक्रिया दिनुहोस्