जनता टाइम्स

२१ भाद्र २०८२, शनिबार ११:०२

हरिसिद्धि दुर्घटनाबारे अध्यक्षओलीले भन्नुभयो– बालिकाको उपचार खर्च पार्टीले बेहोर्छ


काठमाडौं, भदाै २१ । प्रधानमन्त्रीसमेत रहनु भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हरिसिद्धिमा कोशी प्रदेशका मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च पार्टीले बेहोर्ने बताउनुभएको छ ।

ललितपुरको गोदावरीमा जारी एमालेको विधान महाधिवेशनतर्फ गइरहेको कोशीका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर सवार गाडीले शनिबार बिहान हरिसिद्धि माविअगाडि जेब्राक्रसिङमा बालिकालाई ठक्कर दिएको थियो । सवारी दुर्घटनाकै कारण विधान महाधिवेशनको दोस्रो दिनको कार्यक्रम एक घण्टा ढिलो सुरु भएको छ । सोही क्रममा प्रधानमन्त्री ओलीले बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिनुभयो । उहाँले बालिकाको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्नूभयो ।

दुर्घटना भवितव्य भएकाले महाधिवेशन भाँड्ने गरी राजनीति गर्न खोज्न नहुने उहाँको भनाइ छ । “सामान्यरूपमा एक बच्चीलाई गाडीले छोयो, अस्पताल लगिसकियो, त्यस्तो कुनै नियत थिएन, पार्टीले बच्चीको सम्पूर्ण उपचार खर्च बेहोर्छ,  घटनाप्रति दुःख व्यक्त गर्दछु, कहिलेकाहीँ यस्ता अप्रिय घटना हुन्छन्, भइदियो,” उहाँले भन्नुभयो ।

ओलीले भन्नुभयो, “भवितव्य घटना भएको हो, त्यस्तो क्षति पनि भएको छैन, यसमा हामी पनि दुःखी भएका छौँ र बच्चीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,” ।