जनता टाइम्स

२२ भाद्र २०८२, आईतवार १३:०७

भूमि समस्या समाधानमा वाग्मती प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानिया


रामेछाप, भदौ २२ । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाले भूमि समस्या समाधानका लागि प्रदेश सरकार पूर्ण रूपले प्रतिबद्ध रहेको बताउनुभएकाे छ ।

आइतबार भूमि समस्या समाधान आयोग रामेछापसँगको छलफलमा बोल्दै उहाँले भूमि सम्बन्धी समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको र आयोगलाई काम गर्ने क्रममा देखिएका विभिन्न चुनौतीहरू समाधान गर्न प्रदेश सरकारको तर्फबाट सबै सम्भावित प्रयास गरिने बताउनुभयो।

कार्यक्रममा आयोग रामेछापका अध्यक्ष गौतमकुमार लामाले जिल्लामा हालसम्म आयोगले गरेका काम र काम गर्ने क्रममा देखिएका चुनौतीहरूको बारेमा मुख्यमन्त्री बानियालाई जानकारी दिनुभयो।

समस्याबारे सुनेपछि मुख्यमन्त्री बानियाले भन्नुभयो, ‘मैले यहाँका समस्या सुनेँ, समस्या समाधानका लागि के गर्न सकिन्छ भन्ने सुझाव पनि पाइयो, यहाँबाट फर्किएपछि समस्या समाधानका लागि जे गर्न सकिन्छ, म गर्छु।’

कार्यक्रममा वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कन्चनचन्द्र वादे, रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, आयोगका जिल्ला सदस्यहरू र अन्य प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।