ललितपुर, भदौ २२ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले आगामी पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नरहेको पुष्टि भएको बताउनुभएको छ ।
पार्टीको दोस्रो विधान महाधिवेशनको समूहगत छलफलको प्रतिवेदन पेश गरेका समूहका नेताहरूको भनाई सार्वजनिक गर्ने क्रममा गौतमले विधान संशोधनका मुख्य विषयहरू उमेर हद र दुई कार्यकालको विषयमा केही सञ्चारमाध्यमले गलत रूपमा प्रस्तुत गरेका बताउनुभयो । उहाँले सातवटै भूगोल प्रदेश र तीन गैर-भूगोल समूहका नेताहरूले छलफलमा उठेका विषयहरू समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेश गरिसकेका बताउनुभयो ।
दशवटै समूहका नेताहरूले प्रतिवेदनमा अध्यक्ष ओलीको नेतृत्वमा भावी पार्टी सञ्चालनको विकल्प नरहेको उल्लेख गर्नुभएको उहाँले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘राष्ट्रपति, उपराष्ट्रपति मात्र होइन, संवैधानिक नियुक्ति पाएकालाई पनि पार्टीमा फर्किन दिनु हुँदैन भन्ने व्यवस्था विधानमै हुनुपर्छ भन्ने सुझाव सबै समूहले दिनुभएको छ।’
सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले लिपुलेक भूगोल सुदूरपश्चिममा पर्ने भएकाले त्यसको असर पनि त्यहीँका जनतामा पर्न जाने निष्कर्ष सुनाउनु भएको उहाँले बताउनुभयो । ‘अध्यक्ष केपी शर्मा ओलीको चीन र भारतसँगको अडानबाट लिपुलेक मुद्दा अन्तर्राष्ट्रियकरण भएको छ, यसका लागि अध्यक्ष ज्युलाई हाम्रो विशेष धन्यवाद छ’, सुदूरपश्चिमको टोलीले प्रस्तुत गरेको निष्कर्ष गौतमले सुनाउनुभयो । अन्य समूहबाट पनि नेतृत्व, उमेर हद र पूर्वराष्टपति तथा उपराष्ट्रपतिकाले विषयमा स्पष्ट धारणा आएको उहाँले जानकारी दिनुभयो ।
समूहगत छलफलमा आफ्ना प्रतिवेदनहरूमा उठेका प्रश्नहरूको जवाफ महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेलले दिइसक्नुभएको छ।













प्रतिक्रिया दिनुहोस्