काठमाडौं, भदौ २२ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेताहरू जनतासँग जोडिनु पर्ने बताउनुभएको छ ।
ललितपुरको गोदावरीमा जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा महासचिव पोखरेलले नेताहरूको तडकभडक जीवनशैलीप्रति जनताले निगरानी गरिरहेको बताउनुभयो । पोखरेलले सरल जीवनशैली अपनाउन र जनतासँग जोडिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
पोखरेलले पार्टी र सरकार बिचको सम्बन्धलाई पनि मजबुत बनाउन अपरिहार्य रहेको बताउनुभयो । उहाँले वडास्तरबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्ने बताउनुभयो । ‘वडातहबाट काम सुरु भयो भने जनताले प्रत्यक्ष देख्छन् र त्यसले विश्वास बढाउँछ’, उहाँले भन्नुभयो ।
उहाँले निर्वाचनमा पराजित भएका नेताको व्यवस्थापन सम्बन्धित कमिटीमै गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘जुन कमिटीमार्फत बिदा वा प्रवेश गरिएको हो, त्यही कमिटीले हार्नेहरूलाई व्यवस्थित गर्नुपर्छ ।’
महासचिव पोखरेलले पार्टीमा युवाको प्रतिनिधित्व अझै कमजोर रहेको बताउनुभयो । ४० वर्षमुनिका युवालाई पार्टी काममा लगाउने भनिए पनि सुधार हुन नसकेको जानकारी दिनुभयो । ‘आज प्रदेश र जिल्ला कमिटीमा ४० वर्षका युवा आए पनि, उनीहरू नेता पनि बने, तर वास्तविक कार्यकर्ता तहमा युवाको कमी छ’, उहाँले भन्नुभयो ।
केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चित भए पनि साधारण सदस्यमा २६ प्रतिशत मात्रै महिला रहेको तथ्य उहाँले प्रस्तुत गर्नुभयो । उहाँले भन्नुभयो, ‘महिला सदस्यता विस्तार नगरी सक्षम नेतृत्व निर्माण सम्भव छैन ।’
महासचिव पोखरेलले समूह नेताबाट आएका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेटिने जानकारी दिनुभयो । सैद्धान्तिक रूपमा राजनीतिक र साङ्गठनिक प्रतिवेदन तयार भए पनि थप छलफलपछि केही परिमार्जन हुन सक्ने उहाँको भनाइ छ ।













प्रतिक्रिया दिनुहोस्